चितुवाको आक्रमणबाट क्षति भएकालाई राहत


     एभरेस्ट आवाज    
     श्रावण १४ गते २०७८ मा प्रकाशित




फाइल तस्विर ।

दमौली। चितुवाको आक्रमणबाट क्षति भएका पीडित परिवारलाई रु १६ लाखभन्दा बढी राहत रकम वितरण गरिएको छ ।

आर्थिक वर्ष ०७७/७८ को अवधिमा तनहुँ जिल्लाका विभिन्न भागमा चितुवाको आक्रमणबाट क्षति भएका पीडित परिवारलाई डिभिजन वन कार्यालय तनहुँले रु १६ लाख ५९ हजार १०४ राहत रकम वितरण गरेको हो । गत आवमा चितुवाको आक्रमणबाट एक जना बालकको मृत्यु भएको थियो ।

शुक्लागण्डकी नगरपालिका–२ मसारका ११ महिनाका बालक नारायण रानाको चितुवाको आक्रमणबाट मृत्यु भएपछि कार्यालयले पीडित परिवारलाई रु १० लाख उपलब्ध गराएको डिभिजन वन प्रमुख कोमलराज काफ्लेले जानकारी दिए। नेपाल सरकार वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत वन्यजन्तुको क्षतिको राहत निर्देशिका, २०६९ (संशोधित २०७५) बमोजिम वन्यजन्तुको आक्रमणमा परी सामान्य घाइते भएमा रु ५० हजारसम्म, गम्भीर घाइते भएमा दुई लाखसम्म र मृत्यु भएमा अधिकतम रु १० लाखसम्म उपलब्ध गराउने व्यवस्था छ ।

त्यस्तै उक्त अवधिमा जिल्लाका विभिन्न ठाउँमा चितुवाको आक्रमणबाट गाई, भैँसी, सुँगुर/बङ्गुर, बाख्रा-भेडाको मृत्यु भएको थियो । क्षतिको मूल्याङ्कन गरी कार्यालयले पीडितलाई राहत वितरण गरेको छ । रु २१ लाख ८६ हजार ७०४ को क्षति मूल्याङ्कन गरिएकामा रु १६ लाख ५९ हजार १०४ वितरण गरिएको कार्यालयका सहायक वन अधिकृत काशीराज पण्डितले जानकारी दिए ।

चितुवाको आक्रमणबाट तीन गाई मृत्युबापत रु १८ हजार, एक भैँसी मृत्युबापत रु पाँच हजार, चार सुँगुर-बङ्गुर मृत्युबापत रु २६ हजार र ५९ बाख्रा/भेडा मृत्युबापत रु चार लाख राहत प्रदान गरिएको छ । त्यस्तै चितुवाको आक्रमणबाट तीन जना घाइते भएकामा रु दुई लाख १० हजार १०४ राहत दिइएको पण्डितले बताए । (रासस)


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।