विश्वका १३२ देशमा फैलियो डेल्टा भेरियन्ट : डब्ल्यूएचओ


     एभरेस्ट आवाज    
     श्रावण १६ गते २०७८ मा प्रकाशित




तस्बीरः गुगलबाट

विश्वभरि कोरोना भाइरसबाट संक्रमितको साप्ताहिक संख्या बढ्दै गएको पाइएको छ।

यही जुलाई १७ देखि २५ सम्मको सात दिनमा त्यसको अघिल्लो हप्ताको तुलनामा ८ प्रतिशत वृद्धि भएको अधिकारीहरुले जानकारी दिएका छन्। त्यस हप्ता ३८ लाख मानिस कोरोना भाइरसबाट संक्रमित भएका थिए।

संयुक्त राष्ट्रसंघको स्वास्थ्यसम्बन्धी निकायको रुपमा रहेको विश्व स्वास्थ्य संगठनले कतिपय क्षेत्रमा ३० प्रतिशतसम्म संक्रमितको संख्यामा वृद्धि भएको जनाएको छ। पछिल्लो हप्ता दैनिक विश्वभरि ५ लाख ४० हजार संक्रमित भएका छन्। त्यसअघि, ४ लाख ९० हजार औसतमा दैनिक संक्रमित भएको डब्ल्यूएचओको भनाई छ।

त्यसैगरी, अघिल्लो हप्ताको तुलनामा गएको हप्ता ज्यान गुमाएकाहरुको संख्यामा पनि थोरै वृद्धि भएको डब्ल्यूएचओका अधिकारीहरुले जनाएका छन्। डब्ल्यूएचओले विश्वका १३२ देशमा कोरोना भाइरसको डेल्टा भेरियन्ट फैलिएको पनि जानकारी दिएको छ। त्यसैगरी, अल्फा भेरियन्ट १८२ देशमा, बेटा भेरियन्ट १३१ देशमा र गामा भेरियन्ट ८१ देशमा पुगेको पनि डब्ल्यूएचओले जनाएको छ।

संक्रमितहरुको कुल संख्याका आधारमा अमेरिका सबैभन्दा अगाडि रहेको छ भने भारत, ब्राजिल, रुस, फ्रान्स, बेलायतलगायतका देशहरुले क्रमशः अमेरिकालाई पछ्याइरहेका छन्। कतिपय देशहरुमा कोरोना भाइरसको चौथो चरणको महामारी समेत सुरु भएको छ।

रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।