टोकियो ओलम्पिकः पौडीमा अमेरिकाको वर्चस्व, ५ स्वर्ण जित्दै सेलेबको कीर्तिमान

- ४ गुणा १०० मिटर मिडले रिलेमा विश्व कीर्तिमानसहित स्वर्ण जित्दा ड्रेसलले स्वर्ण पदकको संख्या ५ जोडे। ड्रेसलसँगै राएन मर्फी, माइकल आन्द्रे र ज्याक अप्पलले ३ मिनेट २६.७८ सेकेण्ड टाइमिङ निकाल्दै विश्व कीर्तिमान सहित स्वर्ण जिते


     एभरेस्ट आवाज    
     श्रावण १८ गते २०७८ मा प्रकाशित




तस्बीरः गुगलबाट

टोकियो ओलम्पिकमा पौडीको सबै स्पर्धा सकिएको छ।

पौडी स्पर्धामा अमेरिकाले वर्चस्व जमाएको छ । कुल ३५ मध्ये अमेरिकाले ११ स्वर्ण पदक जित्यो। त्यसबाहेक १० रजत र ९ काँस्यसहित कुल ३० पदक अमेरिकाले जित्यो।

९ स्वर्ण, ३ रजत र ८ काँस्य गरी कुल २० पदक जितेको अस्ट्रेलिया दोस्रो र ४ स्वर्ण, ३ रजत र १ काँस्यसहित ८ पदक जितेको बेलायत तेस्रो स्थानमा रह्यो।

सेलेबको कीर्तिमान, ५ स्वर्ण जिते

टोकियो ओलम्पिकमा अमेरिकन पौडीबाज सेलेब ड्रेसलले आफ्नो प्रभावशाली प्रदर्शन जारी राखेका छन्। टोकियो ओलम्पिकमा सनसनीपूर्ण प्रदर्शन गर्नै क्रममा उनले आइतबार पाँचौ स्वर्ण जिते।

आइतबार भएको ४ गुणा १०० मिटर मिडले रिलेमा विश्व कीर्तिमानसहित स्वर्ण जित्दा ड्रेसलले स्वर्ण पदकको संख्या ५ जोडे। ड्रेसलसँगै राएन मर्फी, माइकल आन्द्रे र ज्याक अप्पलले ३ मिनेट २६.७८ सेकेण्ड टाइमिङ निकाल्दै विश्व कीर्तिमान सहित स्वर्ण जिते।

उनीहरूले सन् २००९ मा रोममा भएको वल्र्ड च्याम्पियनसीपमा अमेरिकाले नै राखेको ३ मिनेट २७.२८ सेकेण्डको कीर्तिमान तोडेका हुन्। टोकियो ओलम्पिकमा ५ स्वर्ण जोड्ने क्रममा आइतबार बिहानै भएको ५० मिटर फ्रिस्टाइलमा २१.०७ सेकेण्डको ओलम्पिक कीर्तिमानसहित स्वर्ण जितेका थिए।

२४ वर्षीय ड्रेसलले त्यसअघि ४ गुणा १०० मिटर फ्रिस्टायल, १०० मिटर फ्रिस्टाइलमा मा ओलम्पिक रेकर्डसहित स्वर्ण जितेका थिए। उनले १०० मिटर बटरफ्लाइमा पनि नयाँ विश्व कीर्तिमानसहित स्वर्ण जितिसकेका छन्। उनले ‘नेक्स्ट माइकल फेल्प्स’ को समेत नाम कमाएका छन्। ड्रेसलले २०१६ मा ब्राजिलमा भएको रियो ओलम्पिकमा २ स्वर्ण जितेका थिए। विश्व पौडीका लेजेण्ड अमेरिकन माइकल फेल्प्सले २०१६ को रियो ओलम्पिकपछि सन्यास लिएका थिए।

रियो ओलम्पिकमै ड्रेसलले फेल्प्ससहितको टिमबाट ४ गुणा १०० मिटर फ्रिस्टाइल रिलेमा र ४ गुणा १०० मिटर मिडले पनि स्वर्ण जितेका थिए। त्यतिबेला उनी १९ वर्षका थिए। त्यसयता उत्कृष्ट प्रदर्शन गर्दै आएका ड्रेसलले २०१७ को फिना वल्र्ड च्याम्पियनसीपमा ७ स्वर्ण जितेका थिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।