अष्ट्रेलियासँगको टी–ट्वान्टी क्रिकेटमा बंगलादेशको ऐतिहासिक जित


     एभरेस्ट आवाज    
     श्रावण २० गते २०७८ मा प्रकाशित




तस्बीरः एजेन्सी

अष्ट्रेलियासँगको पहिलो टी–ट्वान्टी क्रिकेटमा घरेलु टोली बंगलादेशले ऐतिहासिक जित निकालेको छ।

ढाकामा भएको पहिलो खेलमा बंगलादेशले अष्ट्रेलियालाई २३ रनले पराजित गरेको हो।

टी–ट्वान्टी अन्तराष्ट्रियमा अष्ट्रेलियाविरुद्ध बंगलादेशको यो ऐतिहासिक जित हो। यस अघि बंगलादेशले टी–ट्वान्टीमा अष्ट्रेलियालाई हराउन सकेको थिएन।

बंगलादेशले दिएको १ सय ३२ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले २० ओभरमा अलआउट हुँदै १ सय ८ रन मात्र जोड्यो।

अष्ट्रेलियाका लागि मिचेल मार्शले सर्वाधिक ४५ रन जोडेपनि टोलीलाई जित दिलाउन सकेनन्। यस्तै, मिचेल स्टार्कले १४ रन जोड्दा कप्तान म्याथ्यु वेडले १३ रन मात्रै बनाए।

अष्ट्रेलियालाई सस्तैमा समेट्न बंगलादेशका नासुम अहमेदले ४ विकेट लिए। मुस्ताफिजुर रहमान र शोरिफुल इस्लामले २÷२ विकेट लिए।

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३१ रन बनाएको थियो। बंगलादेशका लागि शकिब अल हसनले ३६ रन जोड्दा मोहमद नाइमले ३० रन बनाए।

अष्ट्रेलियाका जोस हाजलउडले ३ विकेट लिए। मिचेल स्टार्कले २ विकेट लिए।

यस जितसँगै बंगलादेशले ५ खेलको सिरिजमा १–० को अग्रता बनाएको छ। दोस्रो खेल आज बेलुका पौने ६ बजे हुनेछ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।