‘नेता होस् त रामजी बरालजस्तो’ भन्न पाइयोस्


     एभरेस्ट आवाज    
     श्रावण २३ गते २०७८ मा प्रकाशित




कास्कीको पुम्दीभुम्दीस्थित कालाबाङ घरेडीका स्थानियले गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराललाई उदाहरणीय कार्य गरेर देखाउन सुझाव दिएका छन् । पोखरा महानगरपालिका वडा नम्बर २२ स्थित कालाबाङ घरेडीबासीको साझा संस्था कालाबाङ घरेडी पोखरा तमु समाजको आमा समूहले आयोजना गरेको कार्यक्रममा सहभागि वक्ताहरुले अर्थमन्त्री बराललाई उदाहरणीय कार्य गरेर देखाउन सुझाव दिएका हुन् । कालाबाङ घरेडी पोखरा तमु समाजका सल्लाहकार गौप्रसाद गुरुङले गण्डकी प्रदेशलाई नमूना प्रदेश बनाउनेगरी काम गर्न आग्रह गरे । उनले भने,‘हिजो जनयुद्ध गर्दा ज्यानको बाजी थापेर हिंड्नुभयो, अबपनि सके राम्रो गर्नुस्, नत्र नसकेपनि नराम्रो नगर्नुस्, भोलि हामीले पनि नेता होस् त रामजी बरालजस्तो भन्न पाइयोस् ।’

समाजका अध्यक्ष दुर्गाबहादुर गुरुङले कालाबाङ घरेडीबासी हिजोजस्तो कार्यकर्ता भएर जुनमा भन्छन् त्यसैमा भोट हाल्न तयार नभएको बताए । उनले भने,अब हामी पार्टी हेरेर भोट हाल्दैनौं,‘हाम्रोलाई होइन राम्रोलाई भोट हाल्छौं ।’ यसअघी २÷२ पटक मन्त्री पाएरपनि कालाबाङसहित पुम्दीभुम्दीमा विकासका कुनैपनि काम नभएको इतिहास खोतले । उनले भने,‘हिजो हामीले सरकार भएको अनुभूति गर्न पाएनौं, यसपटक तपाईंबाट आशा गरेका छौं ।’

आमा समूहकी अध्यक्ष मीनु गुरुङले अर्थमन्त्री बरालबाट पुम्दीभुम्दी मात्र नभई समग्र गण्डकी प्रदेशले आशा गरेको बताइन् । ‘हिजोको तरिकाले आज चल्दैन, अब केहि नया र राम्रो गर्ने अपेक्षा जनताले गरेका छन्’–उनले भनिन् ।

आमा समूहकी उपाध्यक्ष शर्मिला गुरुङले प्रदेशको विकास गरेर रामजी बरालसँगै समग्र पुम्दीभुम्दीकै नाम आग्रह गरिन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री बरालले जनताको चाहनामा तुषारापात हुन नदिने प्रतिबद्धता जनाए । राजनीतिक जटिलता र कोरोना महामारीकाबीच विषम परिस्थितिमा आफू मन्त्री बनेको भन्दै उनले भने,‘सके राम्रो गर्छु, नसके तपाईंहरुले भनेजस्तै नराम्रो त कुनैपनि हालतमा गर्दिन ।’ राजनीति देशको मूल नीति भएपनि यसलाई जहाँ पायो त्यहिं गर्ने कुरा नभएको उनले बताए । उनले भने,‘राजनीति देशको मूल नीति हो, तर यो कुन ठाउँमा गर्ने, कुन ठाउँमा नगर्ने भन्ने छुट्याउनु पर्छ । असल राजनीतिलाई बुझेर व्यवहारमा उतार्नुपर्छ ।’ उनले कालाबाङ घरेडीसहित पुम्दी, भुम्दी, शान्तिस्तुप लगायतलाई समेटेर गुरुङयोजना बनाएर पर्यटकीय केन्द्र बनाउनुपर्छ ।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।