मादक पदार्थ खाएर लठ्ठिएका श्रीलालले लोहोरोले हानेर आफ्नै श्रीमतीको हत्या गरे


     एभरेस्ट आवाज    
     श्रावण २६ गते २०७८ मा प्रकाशित




कास्कीमा श्रीमानको कुटपीटबाट श्रीमतीको मृत्यू भएको छ । कास्कीको माछापुच्छ«े गाउँपालिका वडा नम्बर २ बाँझाखेतका ६५ वर्षिय श्रीमान श्रीलाल कामीको कुटपीटबाट उनकी ५५ वर्षिया श्रीमती श्रीमाया कामीको मृत्यू भएको कास्की प्रहरीले जनाएको छ ।

मादक पदार्थ सेवन गरेका श्रीलालले सोमबार राती श्रीमती श्रीमायालाई मसला पिन्ने सिलौटाको लोहोरोले टाउकोमा हानेका थिए । कुटपीटबाट घाईते भएका श्रीमायाको टाउकोमा गम्भीर चोट लागेको र उनलाई उद्धार गरी उपचारको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यू भएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेपछि श्रीलाल सँधै श्रीमतीसँग झगडा गर्ने गर्थे । सोमबार रातीपनि मादक पदार्थ सेवन गरेका उनले बिना कारण श्रीमतीलाई गाली गर्न थाले । श्रीमती श्रीमायापनि आफ्नो गल्ती नभएपछि श्रीमानसँग सवालजवाफमा उत्रिइन् । रिसले चुर भएका श्रीलालले नजिकै रहेको सिलौटाको लोहोरोले एक्कासी श्रीमतीमाथि प्रहार गरे । लोहोरोको चोट सहन नसकी श्रीमती श्रीमाया बेहोस् भएर लडिन् । राती करीब १ बजेको हुनाले मादक पदार्थले लठ्ठिएका श्रीलालपनि श्रीमती शान्त भएर लडेको देखेर शान्त भए र त्यत्तिकै सुते ।

अर्को कोठामा सुतेका छोरा÷बुहारीले बा–आमा झगडा गरेको सुनेका थिए । तर दिनहुँ झगडा गरिरहने भएकाले उनीहरुले सँधैझैं वास्ता गरेनन् । सँधै विहानै उठेर घरको कामधन्दामा खटिने आमा नउठेपछि बुहारी कोठामा हेर्न जाँदा आमा श्रीमायालाई रगताम्मे भएर ढलेको देखेपछि उपचारका लागि अस्पताल ल्याएको परिवारलाई उद्धृत गर्दै कास्कीका प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए । अस्पताल ल्याएलगत्तै आमाको मृत्यू भएपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले मृतकलाई कुटपीट गर्ने उनका श्रीमान श्रीलाललाई घरबाटै पक्राउ गरेको छ । उनलाई नियन्त्रणमा लिएर जिल्ला अदालत कास्कीबाट म्याद थप गरी अनुसन्धान गरिरहेको डिएसपी हमालले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।