१२ देखि १७ वर्ष उमेरका लागि मोडर्नाको ४० लाख डोज खोप


     एभरेस्ट आवाज    
     श्रावण ३० गते २०७८ मा प्रकाशित




सांकेतिक तस्बीर

नेपालमा १२ देखि १७ वर्ष उमेर समूहका किशोर किशोरीहरुका लागि मोडर्नाको ४० लाख डोज खोप नेपाल ल्याइने भएको छ।

विश्व बैंकले आगामी फागुनदेखि ४० लाख मोडर्ना खोप ल्याउने जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मोडर्नाको ४० लाख डोज खोप खरिदका लागि सम्झौता भएको हो।

उक्त खोप १२ देखि १७ वर्ष उमेर समूहका बालबालिका तथा किशोरकिशोरीलाई लगाइने सरकारले जनाइसकेको छ।

विश्व बैंकको वित्तीय सहयोगमा कोभ्याससँगको साझेदारीमार्फत सरकारले ४० लाख मात्रा खोप खरिद गर्नका लागि खोपसम्बन्धी विश्वव्यापी सञ्जाल ‘गाभी’सँग सम्झौता गरेको हो।

यसरी सम्झौता गरेर खोप खरिद गर्नेमा नेपाल विश्वकै दोस्रो र दक्षिण एसियाकै पहिलो देश हो।
‘२०२२ को मार्चदेखि खोप आउनेछ। यसले नेपालका ७२ प्रतिशत जनसंख्या साथै १२ देखि १७ वर्ष उमेर समूहका बालबालिका तथा किशोरकिशोरीलाई खोप दिने लक्ष्यमा सहयोग गर्नेछ,’ विज्ञप्तिमा उल्लेख छ।

माल्दिभ्स, नेपाल तथा श्रीलंकाका लागि विश्व बैंकका निर्देशक फेरिस ह्याडेड जिर्भसले नेपाल सरकार तथा जनतालाई सहयोग गर्न पाएकोमा गौरवान्वित भएको पनि बताउनुभएका छन्।

विश्व बैंकले नेपाल सरकारलाई महामारीविरुद्धको स्वास्थ्य प्रतिकार्यका लागि यसैअघि नै १० करोड ४० लाख डलर उपलब्ध गराइसकेको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।