मोहन रेग्मी बने एमाले गण्डकीको छायाँ सरकारका मुख्यमन्त्री


     एभरेस्ट आवाज    
     श्रावण ३० गते २०७८ मा प्रकाशित




पोखरा । नेकपा एमालेले गण्डकी प्रदेशमा छायाँ सरकार गठन गरेको छ । एमालेले आफ्नो सरकार ढलेर कांग्रेस नेतृत्वमा गठबन्धन सरकार बनेपछि उनीहरुको गतिविधि नियाल्न छायाँ सरकार बनाएको हो । तर एमालेले भने यसलाई छायाँ सरकार नभई संसदीय समूह भनेर परिभाषित गरेको छ ।

गण्डकी प्रदेशमा रहेका ११ वटा मन्त्रालयलाई आधार बनाएर ९ वटा समूह बनाएर त्यसको संयोजक र सदस्य तोकेको एमालेले जनाएको छ । एमाले संसदीय दल अन्तर्गतको संसदीय बोर्डको शुक्रबारको बैठकले ९ वटा संसदीय समूह बनाएको एमाले संसदीय दल गण्डकी प्रदेशका प्रमुख सचेतक मायानाथ अधिकारीले जानकारी दिए ।

एमालेले मुख्यमन्त्री तथा मन्त्री परिषदको गतिविधि हेर्न स्याङ्जाका सांसद मोहनप्रसाद रेग्मीको संयोजकत्वमा मुख्यमन्त्री तथा मन्त्री परिषद समूह बनाएको छ । विधायन समितिका सभापतिसमेत रहेका रेग्मीको संयोजकत्वमा बनेको यो समूहको सदस्यहरुमा प्रमुख सचेतक मायानाथ अधिकारी र कास्केली सांसद मीना गुरुङ रहेका छन् ।

त्यस्तै, भौतिक पूर्वाधार, विकास तथा यातायात समूहमा यसअघी सोहि मन्त्रालय सम्हालेका गोरखाली सांसद रामशरण बस्नेतको संयोजकत्वमा रोशन गाहामगर र प्रभा कोइराला सदस्य रहेको समिति बनाएको छ ।

एमालेले माधवकुमार नेपाल समूहका ईन्द्रलाल सापकोटाको संयोजकत्वमा अर्थ समूह गठन गठन गरेको छ भने यस समूहमा कास्केली सांसद कृष्णबहादुर थापा सदस्य रहेका छन् ।

छायाँ सरकारको सामाजिक विकास समूहमा नरदेवी पुन मगरको संयोजकत्वमा तनहुँका सांसद जनकलाल श्रेष्ठ र मुस्ताङी सांसद इन्द्रारा विष्ट सदस्य रहेको समिति बनेको छ । यसैगरी, उद्योग, पर्यटन, वन तथा वातावरण समूहमा यसअघी सोहि मन्त्रालय सम्हालेका विकास लम्सालको संयोजकत्वमा रामबहादुर गुरुङ र लक्ष्मी सुनार सदस्य रहेको समिति बनाएको छ ।

एमालेले कानुन, सूचना सञ्चार, प्रदेश मामिला मन्त्रालय हेर्न मुस्ताङी सांसद चन्द्रमोहन गौचनको संयोजकत्वमा कास्केली सांसद पुष्पा केसी भण्डारी सदस्य रहेको समिति बनाएको छ ।


त्यस्तै, कास्केली सांसद मित्रकुमारी गुरुङ सुवेदीको संयोजकत्वमा भूमि, व्यवस्था, कृषि समूह बनाइएको छ । जसको सदस्यमा कास्केली सांसद मनबहादुर गुरुङ र महेन्द्र थकाली रहेका छन् ।

एमालेले मीनप्रसाद गुरुङको संयोजकत्वमा ऊर्जा, खानेपानी समूह बनाएको छ भने यसको सदस्यमा धनञ्जय दवाडी रहेका छन् ।

कास्केली सांसद तथा युवा नेता राजिव पहारीलाई स्वास्थ्य, जनसंख्या, युवा तथा खेलकुद समूहको जिम्मेवारी दिइएको छ । जसको सदस्यमा जूनादेवी नेपाली र सावित्रा राना मगर रहेका छन् ।

एमालेका अनुसार गठित समूहले सरकारका सम्बन्धित मन्त्रालयको गतिविधि नियाल्ने र खबरदारी गर्ने जनाइएको छ । प्रमुख सचेतक अधिकारीका अनुसार नव गठित समूहले सम्बन्धित मन्त्रालयका बजेट, योजना, कार्यान्वयन पक्ष, त्यसको प्रभावकारितालगायतका विषयमा अध्ययन गर्नेछन् ।

उनले भने,‘यो छायाँ सरकार भनेर बनाएको होइन, यो त हाम्रो सरकार हुँदापनि बनाउनुपर्ने समूह हो ।’ तर पहिले नबनाएर अहिले मात्र किन बनाइएको हो त भन्ने प्रश्नमा उनले थपे,‘पहिलेपनि आवश्यक्ता महशुष भएकै थियो, तर प्राविधिक रुपमा बनाइएको थिएन, अब अहिले जरुरी ठानेर तत्काल बनाएका हौं ।’

यसैबीच, एमालेले किरण गुरुङलाई संसदीय दलको उपनेता चयन गरेको छ । पूर्व आर्थिक मामिला तथा योजना मन्त्री गुरुङलाई एमाले संसदीय दलको बैठकले उपनेतामा चयन गरेको हो । त्यस्तै दलको सचेतकमा सावित्रा रानालाई चयन गरेको प्रमुख सचेतक मायानाथ अधिकारीले जानकारी दिए ।

केपी ओलीले संसद विघटन गरेर प्रतिगमन गरेको बिरुद्ध आन्दोलित बिपक्षी गठबन्धनले ओलीको मतियारको रुपमा प्रयोग भएको भन्दै गण्डकीमा पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकारलाई ढलाएर नया सरकार बनाएको थियो ।

गत जेठ २७ गते सरकार ढलेको एमालेले २ महिनापछि छायाँ सरकार बनाएको हो । छायाँ सरकारले सम्बन्धित मन्त्रालयको गतिविधि नियाल्ने, बजेटको अवस्था, त्यसको कार्यान्वयन र प्रभावकारितालगायतका विषयमा अध्ययन र खबरदारी गर्ने एमालेले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।