कोरोना सङ्क्रमण बढ्दै गएपछि चितवनका सरकारी कार्यालयको नियमित सेवा बन्द


     रासस     
     श्रावण ३१ गते २०७८ मा प्रकाशित




काठमाण्डौं । जिल्लामा कोरोना भाइरस सङ्क्रमण बढ्दै गएपछि स्थानीय प्रशासनले भीडभाड हुने कार्यालयको नियमित सेवा बन्द गर्ने भएको छ ।

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्वारा आज जारी आदेशमा भीडभाड हुने कार्यालय भदौ १ गतेदेखि १० गतेसम्मका लागि नियमित सेवा वन्द गर्ने जनाइएको छ ।

आदेशमा भनिएको छ, “जिल्लास्थित सरकारी कार्यालयमध्ये बढी भीडभाड हुने जिल्ला प्रशासन कार्यालय, मालपोत, नापी र यातायात व्यवस्था कार्यालयले अत्यावश्यक तथा आन्तरिक कार्यबाहेक नियमित सेवाप्रवाह स्थगन गरिने छ ।”

आदेशमा सभा, सम्मेलन, प्रदर्शन, भेला, सेमिनार, तालीम, सिनेमा, पार्टी प्यालेसलगायत सञ्चालनमा रोक लगाइएको छ । बढी भीडभाड हुने जिल्लाका सरकारी कार्यालयबाहेक अन्यमा यसअघि कै व्यवस्था कायम गरिएको छ ।

खाद्यान्न, तरकारी, फलफूल, दूध डेरी, माछामासु, अण्डा, दाना, ग्यास, पूजा, पसल हरेक दिन बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गर्न पाइने छ । तोकिएका बाहेकका अन्य पसल आइतबार, मङ्गलबार र बिहीबार दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म खुल्न पाउने छन् ।

यसरी खुल्न पाउने पसलमा इलेक्ट्रोनिक, भाँडा, कपडा, फेन्सी, कस्मेटिक, सुनचाँदी, फर्निचर, जुत्ता चप्पल, टेलरिङ, पुस्तक पसललगायत व्यापारिक पसल छन् । खाजा घर, रेष्टुरेण्ट, मिठाई पसल दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म खुल्ने छन् ।

सार्वजनिक सवारी जोरविजोर प्रणालीलाई निरन्तरता दिइएको छ । सिट क्षमताअनुसार सञ्चालन गर्न पाइने छ ।

यसअघि प्रमुख जिल्ला अधिकारीले स्थानीय तहका प्रमुखसँग छलफल गरेर जिल्लामा कडाइ गर्ने योजना बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।