सन्दीप लामिछानेको सीपीएल खेल्ने सम्भावना न्यून


     एभरेस्ट आवाज    
     भाद्र २ गते २०७८ मा प्रकाशित




काठमाडौँ । नेपाली राष्ट्रिय टोलीका स्पिनर सन्दीप लामिछानेले अर्को सातादेखि वेस्टइन्डिजमा हुने क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेट खेल्ने सम्भावना न्यून बनेको छ ।

सीपीएलकै समयमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको अन्तर्राष्ट्रिय खेल पर्ने भएपछि सन्दीपको सीपीएल खेल्ने सम्भावना कमजोर बन्दै गएको सन्दीपका व्यवस्थापक रमन सिवाकोटीले राससलाई बताए । उनले राष्ट्रिय टोलीको महत्वपूर्ण सदस्यका रुपमा रहेका सन्दीप राष्ट्रिय टोलीको प्रशिक्षणमा व्यस्त हुनुपर्ने भएकाले पनि सीपीएल खेल्ने सम्भावना कमजोर बन्दै गएको उल्लेख गरे ।

सन्दीप सीपीएल २०२१ मा ट्रिनबेगो नाइट राइडर्समा अनुबन्ध भएका थिए । सीपीएल अगष्ट २६ देखि सेप्टेम्बर १५ सम्म सञ्चालन हुनेछ । नेपालले ओमानमा नै हुने आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमान र अमेरिकाकासँग त्रिकोणात्मक एक दिवसीय सिरिज खेल्दैछ । त्रिकोणात्मक सिरिज सेप्टेम्बर १३ देखि २० सम्म चल्नेछ ।

त्रिकोणात्मक सिरिज खेल्नुअघि नेपालले पपुवा न्युगिनीसँग सेप्टेम्बर ५ र ८ तारिखमा दुई खेलको एक दिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्नेछ । दुवै खेल ओमनमा नै हुनेछ । सन्दीपले यसअघि तीन सिजनको सीपीएल खेलिसकेका छन् । उनले गत सिजन जमैका तलावाजबाट खेलेका थिए। त्यसअघि सन्दीपले सेन्ट किट्स एन्ड नेभिस प्याट्रिओट्स र बार्बाडोस ट्राइडेन्ट्सबाट खेलेका थिए । (रासस)


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।