पर्वत । महाशिला गाउँपालिका–५ लुङ्खुदेउरालीस्थित चिसापानीको लेकमा चिया खेती सुरु गरिएको छ । सोही गाउँपालिकाको वडा नं ६ फलामखानीमा चियाखेतीको सफल उत्पादन हुन थालेपछि लङ्खुदेउरालीमा पनि विस्तार गर्न थालिएको हो ।
चिसापानी लेकको खाली जमिनमा चियाका बिरुवा रोप्न थालिएको गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उच्चैले जानकारी दिए । उनका अनुसार शुरुआतको चरणमा अहिले एक हजार बिरुवा रोपिने भएको छ । झण्डै एक दशकदेखि चियाखेती शुरुआत गरिएको फलामखानी र यहाँको हावापानी एकै प्रकृतिको छ ।
चिसापानी प्रशिद्ध धार्मिक एवं पर्यटकीयस्थलका रुपमा समेत विकास हुँदै गएको छ । यस वर्ष परीक्षणका रुपमा एक हजार बोट रोप्न थालिएको र बिरुवा हुर्कंदै गए तथा हावापानी मिले आगामी वर्षदेखि थप विस्तार गर्दै जाने उच्चैले जानकारी दिए। गाउँपालिकाले नियुक्त गरेका स्वयंसेवकलाई नै चियाका बिरुवा रोपणमा खटाइएको छ । उनीहरुले नै फलामखानीदेखि बिरुवा ल्याएर रोप्न थालेका छन् । केही दिनमै बिरुवा रोपेर सकिने उच्चैले बताए ।
फलामखानीमा यस वर्ष झण्डै १२ हजार चियाका बिरुवा तयार गरिएको थियो । चिसापानी क्षेत्रमा चियाखेती विस्तारका लागि हजारौँ रोपनी क्षेत्रफल खाली भए पनि अहिले परीक्षणका लागि १० रोपनी जग्गामा मात्र बिरुवा रोप्न थालिएको हो । फलामखानीमा ६० हेक्टर क्षेत्रफलमा चिया खेती गरिएको छ ।
उत्पादित बिरुवामध्ये झण्डै १० हजारको सङ्ख्यामा फलामखानीकै विभिन्न क्षेत्रमा खेती विस्तार गर्ने योजनासमेत गाउँपालिकाले बनाएको छ । फलामखानीमा पनि अहिले बिरुवा रोप्ने काम भइरहेको वडाध्यक्ष रामबहादुर सुनारले जानकारी दिए। उच्च पहाडी क्षेत्रमा रहेको गाउँपालिकाका सबैजसो वडामा चियाखेतीको सम्भावना छ । गाउँपालिकालाई चियाखेतीबाट आत्मनिर्भर बनाउने उद्देश्यले चिया प्राधिकरण नै बनाएर निजी तथा साझेदारी मा खेती विस्तार गर्नेसमेत गाउँपालिकाको योजना छ । (रासस)
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







