कास्कीमा आजदेखि निषेधाज्ञामा थप कडाई

- निषेधाज्ञामा पूर्ण रुपमा स्वास्थ्य मापदण्ड अपनाएर निजी सवारीमा फेरि जोरविजोर, अनलाइन डेलिभरी, होम डेलिभरी र रेष्टुरेण्टहरुमा टेक–अवे र होटलको बेड क्षमताको ५० प्रतिशत मात्रै रहने गरि खाना र बस्नको व्यबस्थापन गर्न पाउने आदेश जारी


     एभरेस्ट आवाज    
     भाद्र ४ गते २०७८ मा प्रकाशित




तस्बीरः एजेन्सी

जिल्ला प्रशासन कार्यलय कास्कीले निषेधाज्ञामा थप कडाई गरेको छ।

कोरोना संक्रमणको दरसँगै मृत्युदर पनि बढ्दै भएको भन्दै प्रशासन कार्यलय कास्कीले बुधबार आदेश जारी गर्दै थप कडाई गरेको हो।

कोरोना संक्रमण बढ्दै गएपछि प्रशासन कार्यलय कास्कीले विहिबार रातिदेखि लागू हुनेगरी कास्कीमा निजी तथा सार्वजानिक सवारी साधनमा फेरि आज (शुक्रबार) रातिदेखि जोरविजोर प्रणाली लागु गरिएको छ।

बुधबार बसेको कोभिड व्यवस्थापन समितिको बैठकले आज (शुक्रबार) रातिदेखि १० गते सम्मका लागि निषेधाज्ञामा थप कडाई गर्ने निर्णय गरेको हो। यसअघि वैशाख १५ गतेदेखि लागू गरिएको जोरबिजोर प्रणाली असार १४ गतेदेखि हटाइएको थियो।

त्यसैगरी, जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञामा बैंक तथा वित्तीय संघसंस्थालाई समेत सीमित कर्मचारी वा सकेसम्म घरबाटै काम गर्न प्रोत्साहन गर्ने, विद्यार्थीको परीक्षाको हकमा भने पूर्व निर्धारित विश्वविद्यालय, आयोगका परीक्षाबाहेक अन्य संचालन गर्न पाइने छैन।

कोरोना संक्रमण बढ्दै गएपछि प्रशासन कार्यलयले रेष्टुरेण्टहरुमा टेक अवे र होटलको बेड क्षमताको ५० प्रतिशत मात्रै रहने गरि खाना र बस्नको व्यबस्थापन गर्न पाउने आदेश जारी गरेको हो।

गण्डकी प्रदेशको पछिल्लो तथ्यांकअनुसार बिहीबार गण्डकीका ५ सय ४ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका ११ सय ८७ जनामा गरिएको नमुना परीक्षणमा थप ५ सय ४ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।

संक्रमण पुष्टि हुनेमा गण्डकीका ९ जिल्लाका छन्। जसअन्तर्गत कास्कीका २ सय ६८ जना, तनहुँका ३८ जना, गोरखाका ३३ जना, लमजुङका ३९ जना र नवलपुरका २५ जनामा कोरोना पुष्टि भएको छ।

यस्तै, स्याङ्जाका ५५ जना, पर्वतका दुई जना, बागलुङका २५ जना र म्याग्दी जिल्लाका १९ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

यससँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ७७ हजार ८ सय ४७ पुगेको छ। पछिल्लो २४ घण्टामा गण्डकीबाट ५ सय १० जना कोरोनामुक्त भएका छन्। योसँगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ७० हजार ७ सय ४३ पुगेको छ।

बिहीबार, गण्डकीमा थप ५ जनाको मृत्यु पुष्टि भएको छ। मृत्यु पुष्टि हुनेमा बागलुङका २ जना, कास्कीका १ जना, म्याग्दीका १ जना र तनहुँका १ जना छन।

मृत्यु पुष्टि भएकासँगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १२ सय २१ पुगेको निर्देशनालयले जनाएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।