जेसीज सप्ताहको दोश्रो दिन वक्तृत्वकला प्रतियोगिता आयोजना : अमरसिंह माविकी अपेक्षा प्रथम


     एभरेस्ट आवाज    
     भाद्र ५ गते २०७८ मा प्रकाशित




पोखरामा जारी जेसीज सप्ताहको दोश्रो दिन विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना भएको छ । पोखरा लेडी जेसीजको आयोजनामा हिजोदेखि पोखरामा शुरु भएको जेसीज सप्ताहको दोश्रो दिन कास्की जिल्ला भरिका विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता भएको हो ।

जेसी सम्झना बस्नेतको संयोजनमा पश्चिमाञ्चल वोर्डिङ स्कुल प्राङ्गणमा आज आयोजित प्रतियोगितामा अमरसिंह माविकी अपेक्षा अधिकारी प्रथम भएकी छन् । प्रतियोगितामा रत्नज्योति आवासीय माविकीकी स्नेहा राणा द्वितीय, शिशु निकेतन बोर्डिङ स्कुलकी प्रसंशा बराल तृतीय र सृजना माविका सुमन काफ्लेले सान्त्वना स्थान प्राप्त गरेका छन् ।

सप्ताहको तेश्रो दिन पोखरा लेडी जेसिजले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा विरामी कुरुवाहरु बस्नका लागि आवश्यक कुर्सीलगायतका विविध सामग्री प्रदान गर्नेछ । विरामी कुरुवा लक्षित सो कार्यक्रमको संयोजन जेसी विनिता सुवेदीले गर्ने पोखरा लेडी जेसिजकी अध्यक्ष कमला शर्मा कँडेल (विनिता)ले जानकारी दिईन् ।

जेसिज सप्ताहको चौथो दिन ‘सकारात्मक सोंच तथा जीवन परिवर्तन’ तालिम हुने भएको छ । जाल्पा आमा समूहको सहकार्यमा युवा तथा महिला व्यवसायी लक्षित गरेर साइमन पार्टी प्यालेस सृजनाचोकमा हुने सो कार्यक्रमको संयोजन जेसी गीता ढुंगानाले गर्नेछिन् ।

जेसिज सप्ताहको पाचौं दिन गरीव तथा असहायः वर्गलाई खाद्यान्न तथा उनीहरुलाई अत्यावश्यक पर्ने सामग्री वितरण गरिने भएको छ । जेसी शुभद्रा बरालको संयोजनमा हुने कार्यक्रम पोखरा महानगरपालिका वडा नम्बर २० स्थित भलाम आधारभुत विद्यालयमा हुनेछ ।

जेसिज सप्ताहको छैटौं दिन पोखरा लेडी जेसिजले मन्टेश्वरी बालबालिका लक्षित गरेर मन्टेश्वरी चित्रकला प्रतियोगिता आयोजना गर्ने भएको छ । जेसी रिना पौडेलको संयोजन र हिमालयन रिडर्स कर्नर न्यूरोडको सहकार्यमा हुने सो कार्यक्रम हिमालयन रिडर्स कर्नर न्यूरोडमै हुने अध्यक्ष जेसी सापकोटाले जानकारी दिईन् ।

जेसिज सप्ताहको सातौं तथा अन्तिम दिन पोखरा लेडी जेसिजले मठ,मन्दिरमा आवश्यक सामग्री वितरण गर्दै सप्ताहको समापन गर्ने भएको छ । जेसी लिलावती पनेरु (सरु)को संयोजनमा हुने सो कार्यक्रम मादी गाउँपालिका वडा नम्बर ५ स्थित मादीबेसी, भद्रकाली मन्दिरमा हुने अध्यक्ष सापकोटाले बताइन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।