आज श्रावण शुक्ल पूर्णिमा अर्थात जनै पूर्णिमा।
आजको दिन हिन्दु धर्मालवलम्बीहरुले जनै पूर्णिमा तथा ऋषितर्पणी पर्व मनाउँदै छन्।
प्रत्येक वर्षको श्रावण शुक्ल पूर्णिमाको दिन धर्मालवलम्बीहरुले आत्माको शुद्धीकरण र शरीरको रक्षाका लागि ब्राह्मण पुरोहितको हातबाट रक्षा बन्धनका रुमा शरीरमा जनै लगाएर र हातमा धागोको डोरो बाँधेर जनैपूर्णिमा मनाउने प्रचलन छ।
शास्त्रीय मान्यताअनुसार विशेषगरी तागाधारी (ब्राह्मण, क्षेत्री, वैश्य) वर्गले वर्षदिन वेद पढ्नुपर्ने र त्यसको साङ्गे अर्थात समाप्तिको दिनका रुपमा जनै पूर्णिमालाई लिइन्छ। यस दिन स्नान गरी सप्तऋषिसहित ब्रह्मा, विष्णु, महेश्वरको पूजा गरी जनै मन्तरेर त्यसलाई धारण गर्ने प्रचलन छ।
तागाधारीले कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, विश्वामित्र र अरुन्धतीसहित सप्तऋषिलाई तर्पण दिने भएकाले जनैपूर्णिमालाई ऋषि तर्पणी पर्वका रुपमा पनि मनाउने गरिन्छ। नेवार समुदायमा भने यस पर्वलाई गुन्हु पुन्हीको रुपमा मनाउँछन् ।
यस दिन तराई क्षेत्रमा दिदी बहिनीले आफ्ना दाजुभाइको नाडीमा दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै राखी बाँध्ने चलन छ। पछिल्ला वर्षमा पहाडी क्षेत्रमा पनि राखी बाँध्न थालिएको छ।
यस दिन पाटनको कुम्भेश्वर, रसुवाको गोसाइँकुण्ड, नुवाकोटको देवीघाटलगायतका धार्मिक क्षेत्र र विभिन्न मन्दिरहरुमा रक्षा बन्धन र जनै लगाउनेहरुको घुइँचो एवं ठूलो मेलासमेत लाग्ने गर्दछ।
आज क्वाँटी खाने दिन पनि
आज जनैपूर्णिमा। जनैपूर्णिमाका दिनलाई क्वाँटी खाने दिनका रुपमा पनि मनाउने प्रचलन छ।
काँधमा जनै र हातमा डोरो बाध्नुका साथै घर घरमा क्वाँटी खाने प्रचलन धेरै पहिलेदेखि चलिआएको हो। यस दिन मास, भटमास, केराउ, मुग, चना, सिमी, गुराँस र बोडी गरी ११ थरिका गेडागुडी मिसाएर बनाइएको क्वाँटी खाने चलन छ। क्वाँटी विभिन्न गेडागुडीहरुलाई मिसाई भिजाएर टुसा उमारेर तयार पारिन्छ।
क्वाँटी खाने प्रचलन खासगरी नेवार समुदायमा बढी छ। पछिल्लो सयम सबै समुदायहरुमा क्वाँटी खाने प्रचलनको लोकप्रियता बढेको छ।

मास, भटमास, मस्याम, हरियो र सेतो केराउ, सानो केराउ, कालो चना, सेतो चना र सिमी, बोडी, बकुल्ला, मुंग लगायतका गेडागुडीको मिश्रण नै क्वाँटी हो ।
क्वाँटी विशेष गरि नेवारी परिकार हो। नेवारी भाषामा ‘क्वाँ’ भनेको ‘तातो’ र ‘टी’ भनेको ‘झोल’ हो। क्वाँटी विभिन्न गेडागुडीबाट बनाइने हुनाले यो परिकार पोषणले भरिपूर्ण भएको मानिन्छ।
खेतीपातीका क्रमममा थकित शरीरमा शक्ति प्रदान गर्न टुसा आएको पौष्टिक तत्वयुक्त क्वाँटी खाइनुले यसलाई प्रकृतिसम्मत पर्वका रुपमा पनि लिइन्छ।
बर्खाको समयमा खेतीकिसानी गर्नेहरुलाई बढी पौष्टिक आहार चाहिने भएकाले क्वाँटीको विशेष महत्व रहेको छ। केराउ, चना, मुगी, मास, सिमी, भटमासलगायतका गेडागुडी मिसाई पानीमा भिजाएर टुसा निक्लिएपछि क्वाँटी तयार पारिन्छ।
आज चौथो विश्व संस्कृत दिवस पनि
आज श्रावण शुक्ल पूर्णिमा (जनैपूर्णिमा) को दिनलाई विश्व संस्कृत दिवसका रुपमा पनि मनाइन्छ।
संस्कृत भाषाको सम्वद्र्धन तथा प्रवद्र्धनका साथ संस्कृत भाषामा रचना गरिएका ग्रन्थहरुमा रहेका ज्ञान प्रसारमा सहयोग पु¥याउने उद्देश्यले विगत चार वर्ष अघिदेखि यो दिवस मनाइन थालेको हो।

संस्कृत भाषाको वस्तुगत महत्वलाई जनसमक्ष पु¥याउन, संस्कृत साहित्यमा रहेको विशाल ज्ञानको अनुसन्धान गर्न, वौद्धिक समुदायलाई संस्कृत भाषाप्रति उत्प्रेरित गर्न र विद्यार्थीलाई संस्कृत भाषाको अध्ययन गर्ने प्रेरणा दिन हरेक वर्षको जनै पूर्णिमाका दिन ‘विश्व संस्कृत दिवस’ मनाउने गरिन्छ।
५००० वर्षभन्दा पुरानो इतिहास रहेको संस्कृत भाषाको दिन नै श्रावण पुर्णिमाको दिनमै वेद पाठनको सुरुवात हुने भएकाले आजको दिनलाई संस्कृत दिवस भनेर मनाइन थालेको हो। आजको दिन देशभर संस्कृत जागरणका लागि विभिन्न कार्यक्रमको आयोजना गरेर संस्कृत दिवस मनाउने गरिन्छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







