आज ‘गाइजात्रा’ उत्सव, देशभर सार्वजनिक विदा

- सांस्कृतिक पर्वलाई महत्वका साथ मनाउने देशकै प्रमुख क्षेत्र पोखरामा पनि यसपाली सम्बन्धित परिवाजन् मात्रै भेला भएर यो गाइजात्रा उत्सव मनाइँदैछ


     एभरेस्ट आवाज    
     भाद्र ७ गते २०७८ मा प्रकाशित




विगतका वर्षमा पोखरामा निकालिएको गाइजात्रा । तस्बीरः एजेन्सी

आज यो वर्षको भाद्र कृष्ण प्रतिपदा अर्थात ‘गाइजात्रा’ उत्सवको दिन।

हरेक वर्षको भाद्र प्रतिपदादेखि अष्टमीसम्म ८ दिनसम्म नेवारी समुदायभित्र मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ।

एक वर्षभित्र दिवंगत आफन्तको सम्झनामा नेवार समुदायले आज गाई वा मानिसलाई गाईका रूपमा सिँगारेर आ–आफ्ना ईलाकामा परिक्रमा गराइने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ। यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति (आफन्तजन्) गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ।

राजा प्रताप मल्लले पुत्रशोकले विह्वल आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन जनतालाई आ–आफ्नो मरेका व्यक्तिका नाममा ‘गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएकोमा यतिले पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यंग्यात्मक कार्यक्रम पनि गराउने आदेश दिएअनुरूप गाईजात्राको प्रचलन चलेको हो।

त्यतिबेलादेखि प्रचलनमा आएको गाईजात्रा काठमाण्डौंको हनुमानढोकास्थित राजप्रासाद भएर जानुपर्ने प्रथा अहिले पनि कायमै छ। देशका विभिन्न शहरमा गाईजात्रा मनाइएपनि काठमाडौँ उपत्यका लगायतका स्थानहरुमा यसको विशेष रौनकता हुन्छ। भाद्र कृष्णाष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यंग्यात्मक प्रहसन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा ‘रामायण’का करुण रसका गीत पनि गाउने चलन छ।

पछिल्लो समय, गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसंगति उजागर गर्न सार्वजनिक रूपमा मनोरञ्जनात्मक तथा व्यंग्यात्मक ढंगले विविध कार्यक्रमको आयोजना गर्ने र विभिन्न संचार माध्यमहरुमा पनि सामाजिक कुरीतिलाई समेटेर हास्यव्यंग्य अंकहरु प्रकाशन र प्रहसन गर्ने चलन छ।

गाईजात्रा पर्व पोखरा लगायत काठमाडौँ उपत्यका, बनेपा, धुलिखेल, पनौती, बाह्रबिसे, त्रिशूली बजार, चरीकोट, दिक्तेल, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगन्ज, हेटौँडालगायतका स्थानहरुमा धुमधामले मनाइन्छ।

विगत दुई वर्षदेखि विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण यो वर्ष समुदायमा आधारित ‘गाइजात्रा’ महोत्सव भने नहुने भएको छ। नेवारी समुदायमा आधारित यो सांस्कृतिक उत्सवलाई गत वर्षदेखि नेपाल सरकारले समुदायमा आधारित नभई सीमित व्यक्तिहरु मात्र सम्मिलित भएर मनाउन निर्देशन गरेको छ।

सांस्कृतिक पर्वलाई महत्वका साथ मनाउने देशकै पोखरा क्षेत्रमा पनि यसपाली सम्बन्धित परिवाजन् मात्रै भेला भएर यो गाइजात्रा उत्सव मनाउने भएको संस्कृतिकर्मी अष्टमान प्रधानाङ्गले बताएका छन्।

‘पोखरामा यसपालीको गाइजात्रा उत्सवमा सम्बन्धित परिवारजन् मात्रै सम्मिलित भएर मनाउने भएका छन्,’ प्रधानाङ्गले भनेका छन्, ‘कोरोनाका कारण यहाँको नेवारी समुदायले मनाउने गाइजात्रा उत्सवलाई यस पालि कास्की जिल्ला प्रशासनले यस्तो निर्देशन दिएको हो।’

गाईजात्राका अवसरमा सरकारले काठमाडौँ उपत्यकामा मात्र सार्वजनिक बिदा दिदैँ आएकोमा यस वर्षदेखि काठमाण्डौ उपत्यका बाहिर पनि सार्वजनिक विदा दिएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।