वालिङका सय घरमा एक घर, एक धारा


     एभरेस्ट आवाज    
     भाद्र ७ गते २०७८ मा प्रकाशित




स्याङ्जा । व्यवस्थित र शुद्ध खानेपानीको अभावमा लामो समयदेखि समस्यासँग जुध्दै आएका स्याङ्जाको वालिङका नागरिकका घर–घरमा खानेपानीको धारा जडान गरिएको छ । स्याङ्जाको वालिङ नगरपालिका–२ का राक्से, सिमलचौपारी र फुटेढुङ्गाका एकसय घरधुरीमा एक घर, एक धारा निर्माण गरिएसँगै खानेपानीको सहजता भएको हो । नगरपालिकाको रु ३२ लाख ५० हजार र स्थानीय उपभोक्ताबाट रु नौ लाख ५० हजार गरी कूल रु ४० लाखको लागतमा तीन वर्षमा खानेपानी योजना सम्पन्न भएको वडाध्यक्ष पोतप्रसाद लम्सालले बताए ।

“ठूलो बस्ती रहेको यहाँका नागरिकलाई खानेपानीको निक्कै समस्या थियो”, वडाध्यक्ष लम्सालले भने, “वडामा हामी निर्वाचित भएसँगै खानेपानीलाई प्राथमिकतामा राखेर काम ग¥यौं र अहिले प्रत्येक घर–घरमा धारा जडान गरी २४सै घण्टा शुद्ध खानेपानी उपलब्ध गराउन सफल भएका छौं ।”

झल्र्याङ्दी मुलबाट करिब डेढ किलोमिटर टाढाबाट पानी ल्याई केराबारीमा ७० हजार लिटर क्षमताको ट्याङ्की निर्माण गरी त्यहीमार्फत घर–घरमा पानी वितरण गरिएको वडाध्यक्ष लम्सालले बताए । स–साना मुलबाट टुक्राटुक्री पाइप जोडेर केही घरले पानी खाने गरे पनि उक्त पानी शुद्ध नभएको र अधिकांशले टाढाबाट बोकेर पानी खानुपर्ने बाध्यता रहेको राक्से, सिमलचौपारी, फुटेढुङ्गा खानेपानी योजना उपभोक्ता समितिका अध्यक्ष बोधराज रेग्मीले बताए ।

स्थानीयवासीले प्रतिघर रु पाँच हजारका दरले रकम सङ्कलन गरी मूल रहेको १२ आना जग्गा खरिद गरेका छन् । खानेपानी वितरण तथा मर्मतका लागि प्रतिघरपरिवार मासिक रुपमा रु ६० सङ्कलन गरिएको छ । त्यसले खानीपानी खोल्ने र बन्द गर्ने कर्मचारीलाई पारिश्रमिक तथा मर्मत सम्भारका लागि खर्च गर्ने गरिएको समितिका अध्यक्ष रेग्मीले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।