आकासे पानीले भिजेर ६ सय बढी कालिज मरे


     एभरेस्ट आवाज    
     भाद्र ७ गते २०७८ मा प्रकाशित




मरेका कालिजहरु । तस्बिर ः सासु कालिज फार्मका सञ्चालक सुवास गुरुङको फेसवुक वालबाट ।

पोखरा । निरन्तरको वर्षाले भिजेर पोखराको एक कालिज फार्मका ६ सय बढी कालिज मरेका छन् । आईतबार साँझदेखि परेको निरन्तरको वर्षाले भिजेर पोखरा महानगरपालिका वडा नम्बर ११ मा रहेको सुवास गुरुङले सञ्चालन गरेको सासु कालिज फार्मका ६ सय ११ वटा भन्दा बढी कालिज मरेका हुन् । बेलुका सग्लै रहेका कालिज विहान हेर्दा मरेको अवस्थामा भेटिएको फार्म सञ्चालक सुवास गुरुङले बताए । कालिज मर्दा करीब १७ लाखको क्षेति पुगेको उनको भनाई छ ।

६ महिना अघि मात्र सञ्चालनमा ल्याएको फार्ममा हाल ९३० वटा कालिज थिए । त्यसमध्ये ६ सय ११ वटा कालिज मरेको अवस्थामा भेटिएको गुरुङले जानकारी दिए । उनका अनुसार करीब ३ सय वटा जिउँदै भेटिएका छन् । बाँकी १९ वटापनि मरेको आशंका गरिएको छ तर भेटिइनसकेको उनले बताए । ‘झाडीहरु भएकाले ती झाडीहरुमा लुकेकै अवस्थामा मरेका हुनसक्छन्, हामी खोज्दैछौं’–उनले भने ।

मरेका कालिजहरु करीब ४ महिनाका थिए । ‘तौलिएको थिएनौं तर ९७ दिनको कालिज भएकाले तौल राम्रै थियो भन्ने लाग्छ, तर यति नै थियो भनेर भन्न सक्दिनँ’–उनले भने । करीब ७ महिनामा खान लायक कालिज हुने उनको भनाई छ ।

कालिजलाई सानो हुँदा तापक्रम मेन्टेन गरेर राख्नुपर्छ । लगभग ३० देखि ३३ डिग्रीको बिचमा तापक्रम राखिने उनले बताए । तर २६ डिग्री भन्दा कम तापक्रम भयो भने कालिज मर्ने सम्भावना रहन्छ । तर ३ महिना कटेपछि कालिजलाई सामान्य अवस्थामा छाडिन्छ अर्थात तामक्रम मेन्टेन गर्नुपर्दैन । सोहि अनुसार गुरुङले कालिजलाई छाडा छाडेका थिए । साँझ पानी पर्न थालेपछि सुवासले कालिजलाई पानीबाट ओताउने बारे नसोंचेका भने होइनन् । तर समय अनुसार अनुकुलन भएर बाँच्न सिक्नुपर्छ भन्ने लागेर उनले कालिजलाई ओताएनन् । जसको परिणाम रातभरी परेको पानीमा रुझेका कालिज विहान मृत भेटिए । ‘जस्तोसुकै तापक्रममा पनि आफूलाई मेन्टेन गर्न सिकून् भनेर मैले कालिजलाई नओताई त्यत्तिकै छाडिदिएँ, मैले सोंचेको थिएँ पानीले भिज्दैमा कालिज मर्दैन, तर नसोंचेको भयो’–उनले भने । उनले तापक्रम मेन्टेन गर्नुपर्छ भन्ने थाहा पाएरपनि अरु भन्दा फरक हुन खोज्दा क्षेति पुगेको बताए । ‘म कालिज पाल्न आवश्यक प्राविधिक ज्ञान भएकै व्यक्ति हो, तर पानीमा भिजेर पनि बाँच्न सक्छ कि सक्दैन भनेर ट्रायल गर्दा घटना घट्यो’–उनले भने ।

सञ्चालक गुरुङले कालिज पानीले भिजेर मरेपनि रोग लागेर मरेको भनेर गलत बुझाई हुन्छ कि भन्ने आशंकाले पिरोलेको बताए । ‘मेरो कमजोरीले पानीमा भिजेर कालिज मरे, तर आम मान्छेको बुझाई रोगले मरेको हो कि भन्ने हुनसक्छ, त्यस्तो नहोस्, कालिज रोग लागेर मरेको होईन् ।’

कालिज मर्दा करीब १६ लाख खर्च लागेको उनले बताए । अहिले बेच्दापनि प्रति गोटा २५ सय पथ्र्यो, अहिलेसम्मको दाना, पानी, वत्ती, मेहनत र लगानी जोड्दापनि त्यति खर्च भेट्छ’–उनले भने । सञ्चालक गुरुङले क्षेति भएपनि कालिज पाल्न भने नछाड्ने बताए । ‘बचेका कालिज हुर्काउँछु, बाँकी थप्दै जान्छु’–उनले भने ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।