२ महिनाको मनसुनी विवरण सार्वजनिक

- मनसुनी वर्षासँगै ६० जिल्लामा बाढीपहिरो, भारी वर्षाका १८२ घटना, ४५१ वटा विपतका घटना, प्राकृतिक घटनामा परी ११४ को मृत्यु, ५ हजार ११८ जना बासिन्दा विस्थापित


     एभरेस्ट आवाज    
     भाद्र १० गते २०७८ मा प्रकाशित




फाइल फोटो

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले २ महिनाको मनसुनी विवरण सार्वजनिक गरेको छ।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार नेपालमा यो वर्षको मनसुन भित्रिएपछि विभिन्न ६० जिल्लामा बाढीपहिरोलगयतले क्षति पुगेको छ।

यो वर्ष हालसम्म ४ सय ५१ वटा विपतका घटना भएका छन्। मनसुन सुरु भएयता ६० जिल्लामा ५ हजार ११८ जना बासिन्दा विस्थापित भएको प्राधिकरणको तथ्यांक छ।

सिन्धुपाल्चोकमा लेदोसहितको बाढी, मनाङमा पहिरो तथा बाढी, बाजुरामा पहिरो र गोर्खा एवं लमजुङको बाढी तथा पहिरो यस वर्षको विपतका ठूला घटना रहेको र ती जिल्लामा सर्वाधिक क्षति पुगेको प्राधिकरणको दाबी छ।

यस अवधिमा बाढीका ८२ घटनामा परेर २९ जनाको मृत्यु भएको छ भने २८ जना बेपत्ता भएका छन्। बाढीमै परेर ८ जना घाइते भएका छन्। देशभर विभिन्न स्थानमा गएको १ सय ८९ पहिरोमा परी ४० जनाको मृत्यु भएको छ भने ७ जना बेपत्ता छन्। सोही अवधिमा पहिरोमा परेर ५८ जना घाइते भएका छन्।

मनसुनयता भारी वर्षाका १ सय ८२ घटना रेकर्ड भएको जनाउँदै प्रधिकरणले वर्षाकै कारण ५ जनाको मृत्यु र २५ जना घाइते भएका छन्। यसअवधिमा चट्याङ लागेर २० जनाको ज्यान गएको छ।

प्राधिकरणको विवरणअनुसार ७ सय १३ वटा निजी आवास पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। सडक तथा नदी मार्गमा बनेका २९ वटा झोलुङ्गे पुल र २७ वटा पक्की पुल बाढीले क्षतिग्रस्त बनाएको छ भने बाढीका कारण २५ वटा हाइड्रो पावरमा क्षति पुगेको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।