सडकमै एन्टिजेन्टमार्फत् कोरोना परीक्षण


     एभरेस्ट आवाज    
     भाद्र १० गते २०७८ मा प्रकाशित




कोरोनाका कारण बागलुङमा जारी निषेधाज्ञा उल्लङघन गरी बजारमा हिँडेका सर्वसाधारणको सडकमा नै एन्टिजेन्टमार्फत कोरोना परीक्षण गर्दै बागलुङ नगरपालिकाका स्वास्थ्यकर्मी । तस्वीर : खेमराज गौतम / रासस

बागलुङ । निषेधाज्ञामा हिँडडुल गर्नेलाई सडकमै रोकेर एन्टिजिन विधिबाट कोरोना जाँच गर्न थालिएको छ । सोमबारदेखि सदरमुकामका चोकचोकमा एन्टिजिन जाँच भइरहेको हो ।

बुधबार लोकतान्त्रिक चोकमा ९३ जनामा एन्टिजिनबाट कोरोना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको बागलुङ नगरपालिकाका जनस्वास्थ्य अधिकृत रामप्रसाद खनालले जानकारी दिए । उनका अनुसार बुधबार उपल्लाचौरमा २५ र सोमबार नारायणचोकमा ५० जनाको एन्टिजिन जाँच गरिएको थियो ।

त्यसमध्ये नारायणचोकमा गरिएको परीक्षणमा एक जनालाई कोरोना पोजेटिभ देखिए पनि बाँकी सबैको रिपोर्ट नेगेटिभ आएको छ । “एन्टिजिन परीक्षणलाई हरेक दिन निरन्तरता दिन्छौँ, बाटैमा जाँच गर्दा निषेधाज्ञामा बिनाकाम हिँडडुल गर्ने पनि निरुत्साहित हुन्छन्”, खनालले भने। यसअघि जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले एन्टिजिन परीक्षणको दायरा बढाउने निर्णय गरेको थियो ।

कोरोना परीक्षण गर्न नमान्ने, हिच्किचाउनेलाई पनि सम्झाइबुझाइ गरेर परीक्षण गर्ने गरिएको छ । एन्टिजिन विधिबाट परीक्षण गर्दा तुरुन्त रिपोर्ट आउँछ । लक्षण भएका व्यक्तिमा मात्र एन्टिजिनले पोजेटिभ नतिजा देखाउने गरेको जनस्वास्थ्य अधिकृत खनालले बताए । कोरोना सङ्क्रमितको छिटो पहिचान र समुदायमा महामारीको स्थिति पत्ता लगाउन एन्टिजिन विधि उपयुक्त मानिन्छ ।

जिल्लामा हालसम्म तीन हजार ४५५ को एन्टिजनबाट कोरोना जाँच गरिएको छ भने २२ हजार २८७ को पीसीआर विधिबाट परीक्षण गरिएको छ । कूल परीक्षणमध्ये सात हजार ४२१ मा कोरोना पुष्टि भएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या भने ३७० मात्र छ । यहाँ कोरोना सङ्क्रमणका कारण ६५ जनाको ज्यान गएको छ । सङ्क्रमणको जोखिम घटाउन गत साउन २८ गतेदेखि यहाँ कडा निषेधाज्ञा छ । (रासस) 


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।