मुख्य प्रशिक्षक ह्वाटमोरको राजीनामाले क्यान स्तब्ध


     एभरेस्ट आवाज    
     भाद्र १२ गते २०७८ मा प्रकाशित




नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक डेभ ह्वाटमोरको राजीनामाले आफू स्तब्ध भएको नेपाल क्रिकेट संघ (क्यान)ले प्रतिक्रिया दिएको छ।

गत आठ महिनादेखि नेपाली टिमको जिम्मेवारी सम्हालिरहेका ह्वाटमोरले शुक्रबार अकस्मात राजीनामा दिएको खबर बाहिर आएको थियो।

ह्वाटमोर नेतृत्वको नेपाली टिम ओमानमा छ। ह्वाटमोरले त्यहीबाट इमेलमार्फत क्यानलाई राजीनामा पठाएको बताइएको छ। ‘ह्वाटमोरको राजीनामाले हामी स्तब्ध भएका छौँ। उनले ओमान भ्रमण सकिनासाथ लागू हुनेगरी राजीनामा दिएका हुन्। उनले क्यानसँग एक वर्षको सम्झौता गरेका थिए,’ क्यानले आफ्नो टीवटर ह्यान्डलमा लेखेको छ।

ह्वाटमोरले व्यक्तिगत र कोभिड–१९ महामारीका कारण भन्दै राजीनामा दिएको बताइएको छ। ह्वाटमोर गत डिसेम्बरबाट नेपालको मुख्य प्रशिक्षक बनेका थिए। तसर्थ उनको क्यानसँगको सम्झौता सकिन अझैँ बाँकी छ।

ह्वाटमोरको नेतृत्वमा नेपालले घरेलु मैदानमा आयोजित त्रिकोणात्मक सिरिज पनि जितेको थियो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।