भलाममा भारी वर्षाले निम्त्यायो वितण्डा

- (हेर्नुहोस, फोटो फिचरसहित)


     एभरेस्ट आवाज    
     भाद्र १७ गते २०७८ मा प्रकाशित




तस्बीरहरुः पत्रकार सूर्य बास्तोलाको सामाजिक सञ्जालबाट

बुधबार बेलुकीदेखि लगातार परेको भारी वर्षाले भलाममा वितण्डा मच्चाएको छ।

चट्याङ र मेघगर्जनसहित परेको भारी वर्षाका कारण भलाम क्षेत्रमा पहिरोले वितण्डा मच्चाएको हो। पहिरोले भलामको देउरालीस्थित दलित वस्ती, मोटरबाटो र खानेपानीको मुहान प्रभावित बनेको छ।

भलामको डाँडागाउँदेखि पहिरो झरेको छ। पहिरोले देउरालीस्थित दलित वस्तीमा क्षति पुगेको छ। देउरालीको करिब ५ घरमा पानीको भल पसेर मानिसहरु विस्थापित जस्तै बनेको भलामबाट पत्रकार सूर्य बास्तोलाले एभरेस्ट आवाजलाई बताएका छन्।

‘अहिले, घरहरुभित्र पसेको हिलो र धमिलो पानीलाई सफा गर्ने कार्य भइरहेको छ,’ बास्तोलाले भने, ‘दलित बस्तीमानवीय क्षति भने भएको छैन।’
पहिरोले रुखहरु बगाएर ल्याउँदा बाङ्गेचौरबाट दलित वस्ती जाने मोटरबाटो समेत अवरुद्ध छ। पहिरोका कारण स्थानीय मूलको (खानेपानी) कुवामा समेत क्षति पुगेको छ। मणिपाल अस्पताल र बाटुलेचौरबाट भलाम जाने मोटरबाटो समेत पहिरोका कारण अवरुद्ध भएको बास्तोलाले जानकारी दिए।

बास्तोलाले बताएअनुसार हरिहर गुफामुनी व्यावसायिक रुपमा संचालन गरेको एउटा कुखुराको खोरमा पहिरोका कारण क्षति पुगेको छ। पहिरोले कुखुराको खोर पुरिन गई करिब २५ सय जति कुखुरा नष्ट भएको बास्तोलाले बताए। त्यस्तै, स्थानीय चिरञ्जीवी अधिकारीको बाख्राको गोठमा समेत क्षति पुगेको छ। पहिरोले बाख्राको खोर परिदा अधिकारीको ६ वटा बाख्रा पुरिएको छ।

त्यस्तै, भारी वर्षाकै कारण पोखराको भलामका ४५ वर्षीय कृष्णकुमार श्रेष्ठ र उनकी पत्नी ३५ वर्षीया सुनमाया तामाङको ज्यान गएको कास्की जिल्ला प्रहरी कार्यालयले जनाएको छ। ब्लकले बनेको घर पहिरोले पुर्दा श्रेष्ठ र उनकी पत्नीको मृत्यु भएको प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए। प्रवक्ता हमालका अनुसार मणिपाल शिक्षण अस्पतालमा उपचार गर्दागर्दै श्रेष्ठको बिहीबार विहान ५ बजे मृत्यु भएको हो।

श्रेष्ठकी पत्नी सुनमायाको भने घटनास्थलमै ज्यान गएको प्रवक्ता हमालले बताए। घटनामा कृष्णकुमारको ९ वर्षिय छोरा राजकुमार श्रेष्ठ घाइते भएका छन्। उनको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

त्यस्तै, घटनामा परेर कृष्णकुमारका अर्का ३ वर्षका छोरा सन्तोष श्रेष्ठ वेपत्ता छन्। वेपत्ता सन्तोषको खोजी भइरहेको प्रहरी प्रवक्ता हमालले जानकारी दिए। यो समाचार बनाउँदासम्म सन्तोषका अवस्था अज्ञात नै रहेको प्रहरी प्रवक्ता हमालले बताए। प्रहरी प्रवक्ता हमालका अनुसार हाल भलाममा थप मानवीय क्षति हुन नदिन प्रहरी परिचालन गरिएको छ। हल, त्यहाँ करिब ७० जना प्रहरीहरु उद्धारकार्यमा खटिएको हमालले जनाए।

विपत्तीको फोटोफिचर


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।