तिजको पूर्व सन्ध्यामा तिज विशेष गजल वाचन


     जुना थापा    
     भाद्र १७ गते २०७८ मा प्रकाशित



नेपाली महिलाहरुको महान् पर्व तिजको पूर्व सन्ध्यामा तिज विशेष गजल वाचन कार्यक्रम सम्पन्न भएको छ । प्रदेश नम्बर १ को कोपिला साहित्य समाज र साहित्यिक चौतारी नेपालको संयुक्त आयोजनामा अनलाइनमार्फत कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठान का सदस्य प्राज्ञ गङ्गा सुवेदीले तिजको इतिहासको बारेमा बताउँदै अबका नारीहरू सचेत हुँदै गएको तर संस्कारका नाममा हुने विकृतिमा विद्रोह गर्न नसकिरहेको बताउनुभयो । सुवेदीले अबका नारीले संस्कृति र संस्कारका नाममा दमन, शोषण सहेर बस्न पनि नहुने बताउनुभयो ।

कोपिला साहित्य समाजको केन्द्रीय कमिटि सचिव तथा प्रदेश अध्यक्ष तथा साहित्यिक चौतारी नेपालका प्रदेश अध्यक्ष कविता केशरीले तिजलाई नेपाली महिलाहरूले राम्रो लाउने र मिठो खाने पर्वका रुपमा मात्र मनाउने होइन, तिज भित्र भएका विकृति हटाउन गीत, कविता ,गजलजस्ता साहित्यका माध्यमबाट समाजलाई चेतनशील बनाउनमा ठूलो योगदान रहेको छ भन्ने कुरा बताउनुभयो ।

दुई चरणमा भएको गजल वाचन कार्यक्रममा पहिलो चरणमा तिज सम्बन्धि लयबद्ध गजलहरू तथा दोस्रो चरणमा तिज सम्बन्धी आधुनिक गजल वाचन गरिएको थियो । कार्यक्रममा गजलकार तथा लेखकहरु विन्दा पराजुली, जमुना पौड्याल, सृजना खनाल, अम्बिका कार्की, सुन्दरी घिमिरे, दीपा वाग्ले, सृजना सरोवर, निमा पौडेल, रिता पाठक जुना थापा लगायतले गजल वाचन गरेका थिए ।

कोपिला साहित्य समाज तथा साचौने प्रदेश १ का अध्यक्ष कविता केशरीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नेपाल राष्ट्रिय शिक्षक संगठन विराटनगर मोरङका सहसचिव रिता पाठकले गर्नुभएको थियो । अनलाइनमार्फत सम्पन्न कार्यक्रममा प्राविधिक रुपमा शिरिष बन्जाडेले सहयोग गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।