भारी वर्षासँगै आएको पहिरोले जनधनको क्षति, कास्की र तनहुँका सिडिओलाई गृहमन्त्रीको फोन


     एभरेस्ट आवाज    
     भाद्र १७ गते २०७८ मा प्रकाशित




काठमाडौं । बुधबारको भारी वर्षासँगै आएको पहिरोले कास्की र तनहुँमा जनधनको क्षति गरेको छ । यसबारे गृहमन्त्री बालकृष्ण खाणले कास्की, तनहुँ र दाङका प्रमुख जिल्ला अधिकारीलाई फोन गरेर क्षतिबारे जानकारी लिएका छन् । कास्कीका सिडिओ थानेश्वर गौतम र तनहुँका सिडिओ सागर आचार्यलाई फोन गरेर गृहमन्त्रीले पहिरोले पुर्याएको क्षतिबारे जानकारी लिएका छन् । मन्त्री खाणले प्राकृतिक विपतमा परेकाहरुको जीवनको रक्षाका लागि उपलब्ध स्रोत साधनको उपयोग गरेर काम गर्न निर्देशन दिएका छन् ।

कास्कीका प्रमुख जिल्ला अधिकारी गौतमले पोखरा महानगरपालिका–२० र ११ मा गएको पहिरोमा परी पाँच जनाको मृत्यु भएको जानकारी दिए । पहिरोमा परी एक जना बेपत्ता भएका छन् । पहिरोले पुर्दा पोखराको भलामका दम्पती कृष्ण श्रेष्ठ र सुन्तली तामाङको मृत्यु भएको गौतमले जानकारी दिए । उनका अनुसार उनीहरूका छोरा सन्तोष श्रेष्ठ बेपत्ता छन् । यस्तै पोखरा महानगरपालिकाकै वडा नम्बर ११ नमुना टोलमा पहिरोले पुर्दा ४२ वर्षीय लक्ष्य नेपाली, ४० वर्षीय विष्णु सार्की र उनका छोराको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी गौतमले जानकारी दिए । पाँच जनाको घाइते अवस्थामा उद्धार गरिएको छ ।

यसैगरी तनहुँका प्रमुख जिल्ला अधिकारी आचार्यले मन्त्री खाँणले टेलिफोनमा जिल्लाको भानु नगरपालिका–११ मानेचौकामा गएको सुख्खा पहिरोबारे जानकारी लिएको बताए । आचार्यका अनुसार बुधबार गएको सुख्खा पहिरोबाट दलित परिवारका १२ घर जोखिममा परेका छन् । उनीहरूलाई सुरक्षित स्थानमा सारिएको उनले जानकारी दिए । ती परिवारका लागि अस्थायी टहरा बनाउने काम सशस्त्र प्रहरीले गरिरहेको उनको भनाइ छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।