बाढीपहिरोमा ११६ जनाको मृत्यु, अझै ४४ बेपत्ता


     एभरेस्ट आवाज    
     भाद्र १९ गते २०७८ मा प्रकाशित




तस्बीरः गुगलबाट

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा गएको बाढी, पहिरो र डुबानमा परी गत जेठ ३० यता १ सय १६ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा ५३ पुरुष, ३४ महिला, १३ बालक र १६ बालिका रहेका प्रहरी प्रधान कार्यालयले जनाएको छ।

रातिदेखिको भारी वर्षापछि पहिरोमा परेर पर्वतमा मात्रै शुक्रबार ११ जनाको ज्यान गएको छ।

बाढीपहिरो र डुबानमा परी उक्त अवधिमा १३६ जना घाइते भएका छन्। तीमध्ये ६८ पुरुष, ३७ महिला, २० बालक र ११ बालिका रहेका प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादु कुँवरले जानकारी दिएका छन्। बाढीपहिरोमा परी अझै ४४ बेपत्ता भएका छन्। उनीहरूको खोजीकार्य जारी छ। बाढीपहिरोमा परेका १ हजार २ सय ८९ जनाको विभिन्न ठाउँबाट उद्दार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।

बाढीको कारण ३ हजार १ सय ८२ घर डुबानमा परेको छ। डुबानमा परि ९ सय ७८ घर, १ सय ६४ गोठ, ६६ पुल, ८ विद्यालय र १५ सरकारी कार्यालयमा क्षति पुगेको छ। बाढी पहिरो र डुबानमा परेर १ हजार हजार ३ सय ३ वटा पशु मरेका छन। सो अवधिमा भएका जम्मा १ हजार ३ सय ४५ विपद्का घटनाबाट १ हजार २ सय ६९ परिवारका ६ हजार १ सय ११ मानिस विस्थापित भएका छन्।

उक्त घटनाबाट प्रभावित स्थानमा भएको क्षति न्यूनीकरण, उद्दार, जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने कार्य जारी रहेको प्रहरीले जनाएको छ।

रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।