लोकबहादुर गुरुङको स्मृतिमा सञ्चारकर्मी तथा लोकगायिका शान्ति गुरुङ सम्मानित


     एभरेस्ट आवाज    
     भाद्र १९ गते २०७८ मा प्रकाशित



पोखरा । वरिष्ठ सँस्कृतिकर्मी स्वर्गीय लोकबहादुर गुरुङको सातौं स्मृति दिवसको अवसरमा बरिष्ठ सञ्चारकर्मी एवम लोकगायिका शान्ति गुरुङ सम्मानित भएकी छन् ।

पोखरामा शनिवार लोकबहादुर स्मृति प्रतिष्ठानद्धारा आयोजित आयोजित स्मृति दिवसमा रेडियो नेपाल प्रादेशिक प्रसारणकी उपप्रमुख एवम वरिष्ठ सम्पादक, तमु संचारकर्मी संघ कास्कीकी अध्यक्ष, वरिष्ठ लोक गायिका गुरुङलाई ३५ हजार नगदसहित सम्मानपत्र, दोसल्लासहित सम्मानित भएकी हुन् ।

सम्मानित गुरुङलाई प्रमुख अतिथि प्रदेशसभा सदस्य मीना गुरुङ, प्रतिष्ठानका अध्यक्ष बेदबहादुर गुरुङ श्याम, स्वर्गीय लोकबहादुर गुरुङको धर्मपत्नी सीता गुरुङले सम्मान गरेकी हुन् ।

सम्मान ग्रहण पछि बोल्दै सम्मानित शान्ति गुरुङले कलाकारिता र पत्रकारिताका लागि सधै प्रोत्साहन गरिरहेका आदर्श व्यक्तित्वको स्मृतिमा सम्मानित हुन पाउँदा अत्यन्त भावुक भएको बताइन् । स्वर्गीय लोकबहादुर गुरुङ आफ्नो र यस क्षेत्रका कलाकार, पत्रकारहरु एवम विभिन्न क्षेत्रमा क्रियाशील युवाहरुको पथ प्रदर्शक रहेको भन्दै उनी सधै अमर रहने बताइन् । स्वर्गीय गुरुङ सधै अवसर दिने, प्रोत्साहन गर्ने भएकाले आज पितृका रुपमा सधै आफुले दैनिक पुज्ने गरेको बताइन् ।

प्रमुख अतिथि प्रदेश सभा सदस्य मीना गुरुङले स्वर्गीय गुरुङलाई स्मरण गर्दै आफुलाई सँधै मार्गनिर्देशन गरिरहने व्यक्तित्वको अभाव खड्किएको बताइन् । अन्य क्षेत्रमा जस्तै राजनीतिक क्षेत्रमा क्रियाशीलताका लागि उनकै प्रोत्साहनले अहिले आफु सभासद भएको बताइन् । सबैको प्रिय व्यक्तित्वक गुमाउँदाको पिडा प्रतिष्ठानले अमर बनाएको उनको भनाई थियो ।

लोकबहादुर गुरुङ स्मृति प्रतिष्ठानका अध्यक्ष बेदबहादुर गुरुङ श्यामले स्वर्गीय गुरुङ सँस्कृति, शिक्षा लगायत धेरै विषयको भण्डार भएको बताउँदै आफुले निकै समय सहकार्य गर्दै धेरै सिक्ने अवसर पाएको बताए । उनकै कारणले आफु अहिलेको अवस्थामा आएको बताउँदै लोक सँस्कृतिका अर्का राष्ट्रकै विभुति मेनकाजी गुरुङलाई राष्ट्रले उचित सम्मान गर्न नसकेको गुनासो गरे । तीन तहको सरकारका आफुहरु रहँदा पनि मेनकाजी गुरुङलाई सम्मान गर्न नसक्दा आत्मग्लानी समेत भएको भन्दै उनको स्मृतिमा प्रतिष्ठान परिवारजन र उनको संस्था हिमाली साँस्कृतिक परिवार लगायतसँग सहकार्य गरी केही न केही गर्न चाहिरहेको बताए ।

प्रतिष्ठानका अध्यक्ष बेदबहादुर गुरुङ श्यामको अध्यक्षतामा भएको कार्यक्रममा सम्मानित व्यक्तित्व शान्तिको गुरुङको बारेमा गुरुङ साहित्यीक मञ्चकी अध्यक्ष गौरी गुरुङले चर्चा गरेकी थिइन् भने प्रतिष्ठानकी सचिव रोशनी गुरुङले कार्यक्रम संचालन गरेकी थिइन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।