गण्डकी प्रदेश काँग्रेस: बागलुङ र नवलपुरमा आज वडा अधिवेशन

- पोखरा–२० मा भोली (मंगलबार) निर्वाचन, २६ मा पुनः निर्वाचन गराउन क्रियाशील सदस्यहरुको माग


     एभरेस्ट आवाज    
     भाद्र २१ गते २०७८ मा प्रकाशित




प्रतिकात्मक तस्बीर

नेपाली काँग्रेस गण्डकी प्रदेशको नवलपुर र बागलुङ जिल्लामा आज (सोमबार) वडा अधिवेशन हुँदैछ।

गण्डकीका ११ मध्ये ९ जिल्लामा नेपाली काँग्रेसले शुक्रबार र शनिबार वडा अधिवेशन सकेको छ भने आज २ जिल्लामा अधिवेशन हुन लागेको छ।

गण्डकी प्रदेशको ८५ स्थानीय तहको ७ सय ५९ वडामध्ये नवलपुरका ९२ र बागलुङका ८५ वडामा आज (सोमबार) वडा अधिवेशन हुँदैछ। यसबाहेकको प्रदेशभित्रको सबैजसो वडाको नतिजा आइसकेका छन्। धेरैजसो वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ।

पोखरा–२० को अधिवेशन बाढीपहिरोका कारण भोली (मंगलबार) का लागि सारिएको छ। पोखरा–२६ मा पुनः निर्वाचन गराउन माग गर्दै केही क्रियाशील सदस्यहरूले निर्वाचन अधिकृतलाई निवेदन दिएका छन्। अधिवेशनमा धेरै क्रियाशील सदस्यलाई सूचना नदिइएको भन्दै उनीहरूले अधिवेशन बदर गराउन माग गरेका हुन्।

नवलपुरमा पनि जताततै बाढी र पहिरोले अवरोध गरेका कारण स्थगित गरेको थियो।

सबैभन्दा धेरै वडा रहेको स्याङ्जाका ९७ मध्ये ८४ वडामा सर्वसम्मत कार्यसमिति चयन भएको छ। केही वडाको निर्वाचन परिणाम अझै आउन बाँकी छ।

मनाङमा भने वडासँगै जिल्ला नेतृत्वसमेत टुंग्याइएको छ। यद्यपि, परिणाम घोषणा हुन भने बाँकी छ। १४ औँ महाधिवेशनमा मनाङ काँग्रेसले भने नेपालमै शंकर गुरुङलाई सबैभन्दा पहिलो जिल्ला सभापतिका रुपमा दिएको हो।

वडा अधिवेशन सकिएसँगै २७ भदौमा पालिकास्तरीय अधिवेशन हुनेछ। गण्डकीमा ८५ वटा स्थानीय तह छन्। वडा अधिवेशनबाट निर्वाचित क्षेत्रीय प्रतिनिधिले मतदान गर्नेछन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।