राष्ट्रिय तीज दोहोरी प्रतियोगितामा विजेता बनिन सर्गम


     एभरेस्ट आवाज    
     भाद्र २१ गते २०७८ मा प्रकाशित



पोखरा । हाम्रो घरले आयोजना गरेकोे खुल्ला राष्ट्रिय तीज दोहोरी गीत प्रतियोगिताको बिजेता सबु सर्गम भएकी छन् ।

नेपाली नारीहरुको महान् पर्व हरितालिका तीजको अवसरमा ‘हाम्रो घर’ले आयोजना गरेको प्रतियोगितमा ६३ जना प्रतियोगीलाई पछि पार्दै सर्गम विजयी भएकी हुन् । सर्गम अर्घखाँची घर भई काठमाण्डौंमा लोक दोहोरी क्षेत्रमा क्रियाशिल छन् ।

यस्तै प्रतियोगितामा निशान्त विक द्वितिय घोषित भए । बिक दाङ घर भई काठमाण्डौंमा रहेर लोक दोहोरी क्षेत्रमा संघर्षरत छन् । अन्तिम चरणको प्रतियोगितामा सर्गम र उनको प्रतिस्पर्धात्मक भिडन्त भएको थियो ।

प्रतियोगितामा धादिङका प्रसंग थपलिया र प्यूठानकी अन्जु आचार्यले क्रमश : तृतिय र सान्त्वनामा चित्त बुझाए । प्रतियोगितामा उत्कृष्ठ प्रतियोगिमध्यबाट पाल्पा रामपुरकी बिपना खनाल उत्कृष्ठ प्रतियोगि घोषित भइन् ।


प्रतियोगितामा खुशी क्षेत्रीलाई पराजित गर्दै सर्गम, बिपना खनाललाई पराजित गर्दै बिक, भगवती पनेरुलाई पराजित गर्दै थपलिया र सिर्जना अम्माईलाई पराजित गर्दै आचार्य अन्तिम ४ मा पुगेका हुन् ।

यही शुक्रबार र शनिबार पछिल्लो समय युवा पुस्तामा लोकप्रिय बन्दै गएको क्लव हाउस प्रयोगकर्ताहरुको समूह ‘हाम्रो घर’ले कार्यक्रम सम्पन्न गरेको हो ।

लोक तथा दोहोरी गीत गायक रबिन लामिछाने, लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशकी महिला उपाध्यक्ष माया गुरुङ, लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी अञ्चलका पूर्व कोषाध्यक्ष बिजय केसी र लोक तथा दोहोरी गीत गायक शुरेस रावलको निर्णायक मण्डलले प्रतियोगितामा बिजेता, उपविजेता घोषणा गरेको हो ।

प्रतियोगितामा प्रथम, द्वितिय, तृतिय, सान्त्वना र उत्कृष्ट पुरस्कार क्रमश २५ हजार, १५ हजार, १० हजार र ५–५ हजार रुपौया सहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

यसअघि कार्यक्रमको उद्घाटन गर्दै लोक तथा दोहोरी गीत प्रतिस्ठानका केन्द्रिय अध्यक्ष रमेश बिजीले डिजिटल प्ल्याटफर्म मार्फत लोक तथा दोहोरी गीतको श्रीवृत्तिमा आयोजकले गरेको प्रयास प्रशंसनीय रहेको उल्लेख गरे । उनले आगामी दिनमा आफूहरुको तर्फबाट सक्दो सहकार्यको प्रतिवद्धता व्यक्त गरे ।

यस्तै लोक तथा दोहोरी गीत प्रतिस्ठानका केन्द्रिय सचिव रमेशराज भट्टराईले प्रविधीको उच्च्तम प्रयोग गरि कोभिड–१९ को विषम परिस्थितीमा लुकेर रहेका प्रतिभा प्रस्फुटन हुने अवसर मिलेको बताए ।

कार्यक्रममा ग्लोवल कन्सल्ट अष्ट्रेलियाका प्रवन्ध निर्देशक दीपक क्षेत्री, रितन खड्का, डि–क्याफे सिड्नीका प्रवन्धक बिन्दु पौडेल, एनआरएनए, यूथ डेप्यूटी–कोर्डिनेटर अष्ट्रेलियाका राजेश टण्डन, लाली गुराँस रेमिटेन्स अष्ट्रेलियका गोकुल भण्डारी, सोखिन न्यौपाने, अस्मिता अर्याल, आयोजक संस्थाका सदस्य अनिष विष्ट, संजिप खत्री, भिष्म वली लगायतले बोलेका थिए ।

यस्तै कार्यक्रममा लोक तथा दोहोरी गायिका डिला बिक, बालचन्द्र बराल, अस्मिता डीसी, निसा केसी, शक्ति गोदार, एडिसा न्यौपाने, मदन पाण्डे, शोभा काफ्ले, अर्जुन न्यौपाने लगायत अतिथि कलाकारहरुको विषेश प्रस्तुतीले कार्यक्रमको रौनक बढेको आयोजकले दावी गरेको छ ।

ग्लोबल कन्सल्ट सिड्नी अष्ट्रेलियाको मुख्य प्रायोजनमा सम्पन्न प्रतियोगितामा डी क्याफे सिड्नी (अष्ट्रेलिया), एनआरएनए यूवा उप–संयोजक (एनएसडब्ल्यू) राजेश टण्डन (अष्ट्रेलिया), सोखिन न्यौपाने (अष्ट्रेलिया), लाली गुराँस रेमिटेन्स अष्ट्रेलियका गोकुल भण्डारी, अस्मिता अर्याल (अष्ट्रेलिया), पशुपति ढकाल (न्यूजिल्याण्ड) बाट सह–प्रायोजकको रुपमा जोडिएका थिए । मिडिया पार्टनरमा एभरेस्ट एफएम पोखरा र अनलाइन पार्टनरमा एभरेस्ट आवाज डटकमले साथ दिएको थियो ।

कार्यक्रममा झण्डै २ सय ५० बढी प्रयोगकर्ताहरुले सुनेर साथ दिएको आयोजकको दावी छ ।

हाम्रो घरका क्रियटर तथा कार्यक्रम संयोजक रमेश अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सहसंयोजक राम कँडेल र सञ्चालन सुरेश क्षेत्री, आवृत्ति भूषाल, पशुपती ढकाल र संगम रेग्मीले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।