आज साक्षरता दिवस मनाइँदै

- ६८ प्रतिशत नेपाली नागरिक साक्षर, ५४ जिल्ला पूर्ण साक्षर जिल्ला घोषणा, अझै २३ जिल्ला साक्षर घोषणा गर्न बाँकी


     एभरेस्ट आवाज    
     भाद्र २३ गते २०७८ मा प्रकाशित



तस्बीरः गुगलबाट

आज सेप्टेम्बर महिनाको ८ तारिक अर्थात अन्तर्राष्ट्रिय साक्षरता दिवस।

हरेक वर्षको ८ सेप्टेम्बरका दिन अन्तराष्ट्रिय साक्षरता दिवसका रुपमा मनाइँदै आएको छ ।

यो वर्ष ‘मानव केन्द्रीत पुनर्लाभका लागि साक्षरता, प्रविधि प्रयोगको असमानतामा न्यूनता’ भन्ने नाराका साथ विश्वभर विभिन्न कार्यक्रम गरि साक्षरता दिवस मनाइँदै छ।

मानवकेन्द्रित पहुँचलाई ध्यानमा राखेर डिजिटल पहुँचलाई समान राख्न यस वर्षको साक्षरता दिवसमा पैरवी गरिएको छ।

दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री शेरबहादुर देउवाले सबै निरक्षर नागरिकलाई साक्षर बनाउनु सरकारको मुख्य लक्ष्य रहेको बताएका छन्। प्रधानमन्त्री देउवाले कोरोना महामारीकैबीच पनि दिगो विकासको लक्ष्य हासिल गर्न साक्षर अभियान निरन्तर अगाडि बढाइरहेको उल्लेख गरेका छन्।

हालसम्म देशका ५४ जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गरिएको छ। झण्डै ६८ प्रतिशत नेपाली नागरिक साक्षर रहेको पछिल्लो तथ्यांकमा उल्लेख गरिएको छ। अझै २३ वटा जिल्ला साक्षर घोषणा हुन बाँकी छन्।

काठमाण्डौसहित ताप्लेजुङ, सोलुखुम्बु, सप्तरी, सिराहा, धुनषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, कपिलबस्तु, बाँके, मुगु, जुम्ला, हुम्ला, कालिकोट, डोल्पा, कैलाली, कञ्चनपुर, डोटी, बाजुरा र बझाङ जिल्ला साक्षर घोषणा हुन बाँकी छन्।

कोरोना भाइरसको जोखिमका कारण अभियान प्रभावकारी हुन नसकेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ। व्यक्तिलाई पूर्ण साक्षर नबनाइ घोषणा गर्दा निरक्षर नागरिकको संख्या बढ्न थालेको छ।

वि.सं २०६२ को वर्षसम्म हरेक १२ फागुनमा राष्ट्रिय शिक्षा दिवस मनाउँदै आइएको थियो भने त्यस यता लोकतान्त्रिक जनआन्दोलनको उपलब्धी देशमा गणतन्त्र घोषणा गरिएको कारण २०६३ मा राष्ट्रिय शिक्षा दिवस स्थगन भएपछि २०६४ सालदेखि अन्तर्राष्ट्रिय साक्षरता दिवसका दिन ८ सेप्टेम्बरसँगै यो दिवस मनाउन थालिएको हो।

‘शिक्षाको उज्यालो घामबाट कुनै पनि बालबालीकाले बञ्चित हुन नपरोस’ भन्ने आदर्श वाक्य (नारा) का साथ वि.सं. २०३१ सालबाट मनाउन थालिएको थियो। सन् १९६५ मा युनेस्कोले हरेक वर्षको सेप्टेम्बर ८ लाई विश्व साक्षरता दिवसको रूपमा मनाउने घोषणा गरेको हो।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।