कांग्रेसको अधिवेशन कार्यतालिका संशोधन


     रासस     
     भाद्र २५ गते २०७८ मा प्रकाशित




फाइल फोटो

काठमाण्डौं । नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशन अन्तर्गतको अधिवेशन कार्यतालिका संशोधन गरेको छ ।

यही भदौ १८ गते निर्धारण गरिएको गाउँ/नगर वडा अधिवेशन सबै जिल्लामा सम्पन्न हुन नसकेपछि अधिवेशन कार्यतालिका संशोधन गरिएको हो ।

पार्टीका क्रियाशील सदस्यता नामावली प्रकाशित भएकामध्ये सबै ५७ जिल्लामा वडा अधिवेशन सम्पन्न भइसकेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । बाँकी २० जिल्लाको क्रियाशील सदस्यता नामावली समितिलाई हालसम्म प्राप्त हुन नसकेको समिति संयोजक महादेवप्रसाद यादवले जानकारी दिए ।

संशोधित कार्यतालिकाअनुसार अधिवेशन प्रारम्भ हुन बाँकी २० जिल्लामा गाउँ/नगर वडा अधिवेशन आगामी असोज ५ गते तोकिएको छ ।

त्यस्तै गाउँ/नगरपालिका अधिवेशन असोज ९ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १२ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १८ गते निर्धारण गरिएको उनले बताए ।

एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १८ गते तोकिएको छ । प्रदेश र केन्द्रको अधिवेशनको मिति भने यथावत छ । कांग्रेसले यस अघि नै प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरिसकेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।