खोप कार्डका आधारमा खेलकुदको प्रशिक्षण शुरु गरौं : मन्त्री गुरुङ


     एभरेस्ट आवाज    
     भाद्र २७ गते २०७८ मा प्रकाशित



गण्डकी प्रदेशका खेलकुद मन्त्री राजिव गुरुङले खोप कार्डका आधारमा खेलाडीलाई प्रशिक्षण शुरु गर्नुपर्ने बताएका छन् । युवा तथा खेलकुद मन्त्रालयले आईतबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले खोप (भ्याक्सिन) लगाएकाहरुलाई मात्र प्रशिक्षण दिने ब्यबस्था गरेर खेलकुदका गतिविधि शुरु गर्न सकिने बताएका हुन् । अहिले सबै खेलाडीलाई प्रशिक्षण गराउँदा कोरोनाको जोखिम बढ्न सक्छ,‘उनले भने,‘तत्काललाई भ्याक्सिन लगाएका खेलाडीलाई प्रशिक्षण दिन सकिनेछ भन्ने जानकारी गराउन चाहन्छौं ।’

मन्त्री गुरुङले प्रशिक्षण थाल्न ढिलाई गर्न नहुने बताए । कित भ्याक्सिनको काम छैन भन्नु प¥यो, यो भ्याक्सिन कमसल खालको हो, यसले काम गर्दैन भन्नुप¥यो, होइन भने त भ्याक्सिन लगाएकालाई प्रशिक्षण थाल्दा केहि बिग्रिदैन ।’ उनले खोप नलगाएकालाई भने रंगशाला प्रवेशमा रोक लगाउनुपर्ने बताए । भने,‘विथआउट भ्याक्सिनेटेडलाई छिर्न दिनुहुँदैन ।’

मन्त्री गुरुङले अघिल्लो एमाले सरकारले साढे ३ वर्षको समयमा खेलकुदका लागि केहिपनि नगरेको आरोप लगाए । अहिलेपनि हामी खेलकुदमा एबिसिडीबाट शुरु गर्दैछौं,‘उनले भने,‘एमाले सरकारको साढे ३ वर्षमा केहिपनि गरेन ।’

मन्त्री गुरुङले अघिल्लो सरकारका सामाजिक विकास मन्त्री नरदेवी पुनले आफ्नो क्षेत्रमा मात्र खेलकुदको बजेट लगेको आरोप लगाए । प्रदेशका ९ जिल्लाको भन्दा म्याग्दी र बागलुङका लागि मात्र दोब्बर बजेट मन्त्री पुनले लगेको उनको आरोप थियो । अघिल्लो सामाजिक विकास मन्त्रीले भन्दै मन्त्रीको नाम नलिई उनले भने,‘कुल ६ करोड बजेटमा म्याग्दी र बागलुङमा मात्र ४ करोड बजेट राखेको छ, कास्की, पर्वत, तनहुँ, मनाङ, मुस्ताङ, स्याङ्जा, लमजुङ, गोरखा र नवलपुर गरि ९ जिल्लाका लागि भने २ करोड बजेट छ, यसरी बजेटमा विभेद गरिएको छ ।’ रातो कितावमै उल्लेख गरेकाले सो बजेट तलमाथि गर्न नमिल्ने उनले बताए । अघिल्लो मन्त्रीले त खत्रै गर्नुभएको रहेछ,उनले भने,‘अब आउने चुनावमा देखिएला यसको प्रभाव ।’


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।