भारतमा कोरोनाभाइरसबाट थप २८ हजारभन्दा बढी सङ्क्रमित


     एभरेस्ट आवाज    
     भाद्र २७ गते २०७८ मा प्रकाशित



नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट थप २८ हजार ५९१ जना सङ्क्रमित थपिएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयले आइतबार बिहान दिएको जानकारीअनुसार नयाँ थपिएका सङ्क्रमितमध्ये २० हजार ४८७ जना केरलाका राज्यमा मात्रै रहेका छन् । पछिल्लो समय केरलामा दैनिक सङ्क्रमितको सङ्ख्या अत्यधिक धेरै देखिएको छ ।

भारतका बाँकी भू–भागमा भन्दा केरलामा सङ्क्रमितको सङ्ख्या धेरै देखिएको हो । भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या तीन करोड ३२ लाख ३६ हजार ३३० पुगेको पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भारतमा अहिले कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या तीन लाख ८४ हजार ९२१ रहेको छ । त्यसैगरी भारतमा कोरोनाभाइरसका कारण अहिलेसम्म मृत्यु भएकाको सङ्ख्या चार लाख ४२ हजार ६५५ पुगेको छ ।

तीमध्ये ३३८ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । सोही अवधिमा ३४ हजार ८८४ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त भएकाको कुल सङ्ख्या भने तीन करोड २४ लाख नौ हजार ८४८ रहेको छ । भारतमा केही हप्तादेखि दैनिक सङ्क्रमितको सङ्ख्यामा वृद्धि हुँदै आएपनि पछिल्ला केही दिनमा घटबढ हुने गरेको पाइएको छ । (रासस-एएनआई)


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।