आज राष्ट्रिय वालदिवस

- ‘सामान्य वा कोभिड महामारीः बालअधिकारको संरक्षणमा हामी सबैको जिम्मेवारी’


     एभरेस्ट आवाज    
     भाद्र २९ गते २०७८ मा प्रकाशित



आज भदौ २९ गते अर्थात ५७ औं राष्ट्रिय बालदिवस।

देश संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि ०६३ यता हरेक वर्षको भदौ २९ गते बालबालिकासम्बन्धी रचनात्मक र सचेतनात्मक विविध कार्यक्रम सहित राष्ट्रिय बालदिवसका रुपमा मनाइँदै आएको छ।

यस वर्षको बाल दिवसमा नेपाल सरकारले ‘सामान्य वा कोभिड महामारीः बालअधिकारको संरक्षणमा हामी सबैको जिम्मेवारी’ नारा तय गरेको छ। त्यस्तै, कोभिड १९ को जोखिमलाई मध्यनजर गर्दै स्थानीय तहबाट रचनात्मक तथा सचेतनात्मक कार्यक्रम गरेर राष्ट्रिय बालदिवस २०७८ मनाउन गण्डकी प्रदेश शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्रालयले प्रदेश मातहतको सबै स्थानीय तहलाई आग्रह गरेको छ।

त्यस्तै, ५७ औँ राष्ट्रिय बाल दिवस मनाउने तयारी गरिएको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय बालअधिकार परिषद्ले दिवसका अवसरमा बालअधिकार संरक्षण र संवद्र्धनमा भएका विषयगत प्रयास तथा उपलब्धिबारे जानकारी गराउनेछ ।

दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देश जारी हुनेछ भने प्रधानमन्त्री शेरबहादुर देउवाले भर्चुअलरुपमा मूल समारोह समितिको कार्यक्रम शुभारम्भ गर्नेछन्। दिवसका कार्यक्रममा ‘संघीय नेपालमा बाल अधिकार’ विषयक दुई मिनेटको भिडियो निर्माण प्रतियोगितामा उत्कृष्ट ३ भिडियो सार्वजनिक गरी पुरस्कृत गरिनेछ।

‘सडक बालबालिकामुक्त राष्ट्र नेपाल’ बनाउने अभियानअन्तर्गत सडकदेखि रंगशालासम्म कार्यक्रम, अन्तर्राष्ट्रिय खेलाडी उत्पादनका लागि रग्वी प्रशिक्षणको पनि दिवसकै दिन शुभारम्भ गरिनेछ।

यस्तै, भदौ ३० गते सातै प्रदेशमा बालबालिकाको सहभागितामा डिजिटल ह्याङआउट कार्यक्रम र कोभिडले पारेको प्रभाव र समाधानका उपायबारे सिर्जनात्मक अभिव्यक्ति प्रस्तुति गराइनेछ। दिवसका अवसरमा बाल अधिकारका क्षेत्रमा नीतिगत समीक्षा र भावी कार्यदिशा तय गर्ने विषयमा पनि छलफल हुनेछ। बालअधिकारबारे संचारमाध्यमहरुले उचित स्थान दिन नसकेको गुनासोहरु आइरहेको अवस्थामा नयाँ कानूनी व्यवस्थाबमोजिम सबै स्थानीय तहमा बालअधिकार संरक्षणका लागि संरचनाहरु स्थापना हुन थालेका छन्।

स्मरण रहोस, देश संघीय लोकतान्त्रिक गणतन्त्रमा जानु अघि भदौको ४ गते राष्ट्रिय बाल दिवस मनाइँदै आएको थियो। वि.सं. २०२१ भ्दौ ४ गतेदेखि राष्ट्रिय बालदिवस मनाइँदै आएको हो।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।