फाइल तस्बीर
आज (बुधबार) देखि कक्षा १२ को वार्षिक परीक्षा सुरु हुँदैछ।
कोरोना भाइरसका कारण यसअघि स्थगित गरिएको परीक्षा राष्ट्रिय परीक्षा बोर्डले आजदेखि संचालन गर्न लागेको हो।
अधिकांश विद्यार्थीले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेका र संत्र,मण पनि बिस्तारै नियन्त्रण हुने अनुमान गरी परीक्षा संचालन गर्न लागेको हो। परीक्षा ११ बजेबाट सुरु हुनेछ र असोज ८ गतेसम्म परीक्षा चल्नेछ। परीक्षाका लागि आवश्यक सबै तयारी पूरा गरेको बोर्डले जनाएको छ।
यसअघि साउन ३१ गतेबाट परीक्षा संचालन गर्ने निर्णय गरिएकोमा बोर्डले अन्तिम समयमा आएर स्थगित गरेको थियो। यस पटक ३ लाख ७४ हजार विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी हुने जनाइएको छ।
परीक्षामा विद्यार्थीलाई होम सेन्टर (विद्यार्थीले अध्ययन गरेकै विद्यालयमा परीक्षा दिने)को व्यवस्था मिलाइएको छ। विद्यार्थीलाई अरू विद्यालयमा परीक्षा दिन जानका लागि असुविधा हुन सक्ने भएकाले होम सेन्टरको सुविधा दिइएको हो। परीक्षामा यस पटक ४ हजार ३१५ वटा परीक्षा केन्द्र तय गरिएको छ।
विद्यार्थीको उत्तरपुस्तिका संकलन गरी बोर्डले आफ्नै तरिकाबाट परीक्षण गर्नेछ। संक्रमण कम भएका कारण उत्तरपुस्तिका संकलन गर्न लागेको हो।
गत वर्षको कक्षा १२ को परीक्षामा भने उत्तरपुस्तिकाको परीक्षण परीक्षा केन्द्रमा नै गर्ने व्यवस्था मिलाइएको थियो। गत वर्ष परीक्षा समय र अंक भार घटाएर परीक्षा लिएको थियो। बोर्डले ४० प्रतिशत मूल्यांकनका लागि मात्रै परीक्षा लिएको थियो। बाँकी ४० प्रतिशत मूल्यांकन कक्षा ११ को नतिजाका आधारमा र २० प्रतिशत आन्तरिक मूल्यांकनका आधारमा परीक्षा भएको थियो।
यसैबीच, बोर्डले विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी कक्षा १२ का विद्यार्थीको नतिजा प्रकाशन गरिने जनाएको छ। आगामी मंसीर अन्तिम या पुससम्ममा नतिजा प्रकाशन गरिनेछ। यसपछि कक्षा १२ का विद्यार्थीलाई स्नातक अध्ययनका लागि बाटो खुल्नेछ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सञ्चारिका समूह नेपाल, गण्डकी प्रदेशको आयोजना तथा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय, जरेवर–६ शाखाको…





