त्रिदेशीय एकदिवसीय क्रिकेट श्रृंखलामा नेपाल ओमानसँग ५ विकेटले पराजित


     एभरेस्ट आवाज    
     भाद्र ३० गते २०७८ मा प्रकाशित



तस्बीरः एजेन्सी

आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय एकदिवसीय क्रिकेट श्रृंखलामा नेपाल घरेलु टोली ओमानसँग ५ विकेटले पराजित भएको छ।

नेपाल ओमानसँग लगातार तेस्रो खेलमा पराजित बनेको हो। लिग–२ अन्तर्गत यसअघि घरेलु मैदानमा भएको २ खेलमा नेपाललाई ओमानले हराएको थियो।

अल अमिरात मैदानमा ओमानले ३१ ओभर १ बलमा ५ विकेट गुमाएर नेपालले दिएको १ सय ९७ रनको लक्ष्य भेट्टाएको थियो। ओमानका जतिन्दर सिंहले १ सय ७ रनको शतकीय पारी खेले। नेपालका करण केसी र कुशल मल्लले २÷२ तथा सुशन भारीले १ विकेट लिए।

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४७ ओभर ४ बलमा अलआउट हुँदै १ सय ९६ रन बनाएको थियो। नेपालका ओपनर आसिफ शेखले ९० रनको अर्धशतकीय पारी खेले। आसिफको यो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा पहिलो अर्धशतक समेत हो। ओमानका बिलाल खानले ४ विकेट लिए। त्यस्तै, नेस्टर धाम्बाले २ तथा जिशन मक्सुद र मोहमद नदीमले १/१ विकेट लिए।

अब, नेपालले शुक्रबार अमेरिकासँग दोस्रो खेल खेल्नेछ। सोमबार भएको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले हराएको थियो। लिग–२ को अंक तालिकामा नेपाल छैटौं स्थानमा छ। नेपालले ६ खेलमा ६ अंक जोडेको छ। ओमान ११ खेलमा १८ अंक जोडेर शीर्ष स्थानमा छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।