लण्डनमा बस्ने पोखरेली स्रष्टा सनमनको सिर्जना मांझी दाइ गीतको भि.डि.ओ.लोकार्पण


     एभरेस्ट आवाज    
     असाेज १ गते २०७८ मा प्रकाशित




पोखरा । पुरानो घर पोखरा राम बजार (पेन्सन क्याम्प)भई हाल लन्डन बस्दै आउनु भएका सनमन गुरुङ्गको रचना तथा संगीतको “माँझी दाइ” बोलको गीत लोकार्पण गरिएको छ । रामबजार सोसाइटी यू.के.का प्रमुख सल्लाहकार तथा सामाजिक अभियन्ता महेश गुरुङ्ले पोखरामा आयोजित एक कार्यक्रममा गीतको भि.डि.ओ.लोकार्पण गर्नु भएको हो ।
सनमन गुरुङको आफ्नै रचना तथा संगीत भरेको उक्त माझी दाइ गीत कालिका स्कुल पोखराको शिक्षक ज्ञान थापाले स्वर दिनुभएको छ भने संगीत संयोजन देउराली ब्याण्ड पोखराका तेज केसीले गर्नुभएको छ । पोखराको विभिन्न रमणीय स्थानहरुमा छायांकन गरिएको उक्त गीतमा युबराज गुरुङ्ग, अमृता मगर तथा बसन्त थापाले अभिनय गर्नुभएको छ ।
म्युजिक भिडीयोको निर्देशन कलाकार युवराज गुरुङ्ग स्वयमले गर्नुभएको हो भने क्यामेरा भिम तिमील्सिना र इडिटिङ्ग अनिल शाहीले गर्नुभएको छ । एपोस्टल स्टुडियोमा रेकर्ड गरिएको गीतको रेकर्ड तथा मिक्सिङ्ग अनिल शाहीले गर्नुभएको हो । माँझी दाई गीत असलसाथी प्रडक्सनले बजारीकरण गर्न लागेको छ । गीत निर्माणमा अरुण लामा तथा श्रीमती मन्जु लामा गुरुङ्गले बिशेष सहयोग गर्नुभएको छ ।
लोकार्पण गर्दै प्रमुख अतिथि महेश गुरुङ्गले भुपु शिक्षक सनमन फुटबलमा पनि उत्तिकै दख्खल भएको बताउनु भयो । ‘उहाँ गण्डकी अंचलको फुटबल खेलाडी हुनुहुन्थ्यो । सानै देखि कबिता, गीत र संगीत क्षेत्रमा रुचि राख्नुहुने सनमन आफ्नो पहिलो प्रयासले सफलता पाउनेमा म आशाबादी छु’ गुरुङ्गले भन्नु भयो । कार्यक्रममा कल्याण शेरचन स्मृति प्रतिष्ठानका अध्यक्ष क्या. पूर्णबहादुर ह्योल्मो, समाजसेवी निरज थापा लगायतले स्रष्टा सनमनसंगको पुराना यादहरु स्मरण गर्दै गीतको सफलताको शुभकामना ब्यक्त गरेका थिए ।
आजैदेखि यो गीत आफ्नै युट्युब च्यानल मेरो संसारमा रिलिज गरिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।