तस्बीरः एजेन्सी
साउदी अरबले दाबी गरेको सन् २०१८ को हवाई आक्रमणमा मारिएका आफ्ना एक जना प्रमुख नेताको हत्यामा संलग्न भएको आरोपमा यमनी हुथी समूहले ९ जनालाई मृत्युदण्ड दिएको बताएको छ।
हुथी समूहका तत्कालिन सर्वोच्च राजनैतिक परिषद्का प्रमुख सालेह अल–सामदको तीन बर्ष पहिले भएको मृत्यु सानालाई नियन्त्रण गरेको इरान समर्थित विद्रोहीहरूका लागि ठूलो प्रहारको रूपमा लिइएको थियो ।
विद्रोही समर्थक साबा न्यूज एजेन्सीले ती ९ जनालाई यमनको राजधानी सानाको एक चोकमा गोली प्रहार गरी मृत्युदण्ड दिइएको जनाएको छ। उनीहरू हुथी समूहको एक अदालतले हुथी नेता सामदको हत्यामा संलग्न भएको अभियोगमा दोषी ठहर भएका १६ जनामध्ये हुन्।
हुथी अदालतले साउदी अरबका राजकुमार मोहम्मद बिन सलमान र अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पसहित अन्य ७ जनालाई पनि उनीहरूको अनुपस्थितिमा नै अदालतले मुद्दा चलाएको थियो। उनीहरूलाई पनि हुथी अदालतले मृत्युदण्डको सजाय सुनाएको साबा न्यूजले उल्लेख गरेको छ।
अप्रिल २०१८ मा यमनको पश्चिमी प्रान्त होडैडामा भएको हवाई हमलामा समादसहित अन्य ६ जनाको मृत्यु भएको थियो। साउदी अरबले उक्त हवाई हमला गरेको पुष्टि गरेको थियो।
हुथी समूहले गरिब देश यमनमा पूर्ण नियन्त्रणका लागि साउदी समर्थित यमनी सरकार र रियादको नेतृत्वमा भएको सैन्य गठबन्धनसँग सन् २०१४ देखि लडिरहेका छ।
हुथीहरूले यमनी राजधानी सानालाई कब्जा गरेपछि साउदी नेतृत्वको गठबन्धन सेनाले सन् २०१५ देखि यमनी हुथीलाई लक्षित गरी आक्रमण थालेको थियो।
त्यसबेलादेखि हजारौं मानिसहरू मारिएका छन् र लाखौं मानिसहरू संयुक्त राष्ट्रसंघले विश्वकै सबैभन्दा खराब मानवीय संकट भनी वर्णन गरेको भोकमरीको सँघारमै पुगेका छन् ।
साउदी नेतृत्वको गठबन्धनले देशमा हस्तक्षेप गरेपश्चात् मारिएका समाद सबैभन्दा वरिष्ठ हुथी नेता थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा ।प्रधानमन्त्री राहत कोषमा १ लाख १५ हजार ५६० रुपैयाँ सहयोगपोखरा ।…








