पोखरा । नेलम्बो नेपालको पाँचौं वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । साधारण सभामा आर्थिक वर्ष २०७७/७८ का कार्यक्रममा भएका गतिविधिहरु, आयव्यय विवरण र आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रमहरु पनि पारित गरेको छ । संस्थाको आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष अन्जना तझ्याले प्रस्तुत गरेकी थिइन् ।
नेलम्बो नेपालले गत आर्थिक वर्षमा विश्वव्यापी महामारीको रुपमा रहेको कोभिड १९ को विषम् परिस्थितिमा विभिन्न ३ चरणमा गरी गण्डकी प्रदेशलाई लक्षित गरी स्वास्थ्य सुरक्षाका सामग्रीहरु तथा खाद्यान्न लगायतका राहात सामग्रीहरु हस्तान्तरण गरेको थियो ।
संस्थाका अध्यक्ष एकदेव देवकोटाको सभापतित्वमा सम्पन्न साधारण सभाको प्रमुख आतिथ्यता पोखरा महानगरपालिकाको न्यायिक समितिका सचिवालय कानुन अधिकृत राममणि अधिकारीले गरेका थिए । प्रमुख अतिथि अधिकारीले नेलम्बो नेपालले शिक्षा, स्वास्थ्य र वातावरणको साथै विभिन्न विपत्तीको समयमा पनि प्रशंसनीय कार्य गरेको बताए । उनले विश्वव्यापी महामारीको समयमा पनि मुख तथा दन्त रोगको निःशुल्क परीक्षण, औषधी उपचार गरि जनमानसमा प्रत्यक्ष फाईदा पुग्ने कार्य गरेको प्रति नेलम्बो नेपालको प्रशंसा गर्दै संस्थालाई धन्यवाद पनि दिए ।
कार्यक्रममा सभापति तथा नेलम्बो नेपालका अध्यक्ष देवकोटाले संस्थाका सबै गतिविधिहरु चुस्त दुरुस्त सञ्चालन गर्नको लागि संस्थामा रहेका पदाधिकारीहरुको आपसी सहकार्य, दाताको निरन्तर सहयोग र कर्मचारीहरुमा भएको लगनशिलताले गर्दा सफलता प्राप्त गरेको बताए । नेलम्बो नेपाल निरन्तर सफलताको विन्दुतिर लम्की रहेको र भावी दिनहरुमा यसको शाख जोगाई राख्न चुनौति रहेको देवकोटाले बताए । तर, आपसी सहमति र सहकार्यले असहज परिस्थितिलाई पनि सहज बनाउन सकिने उनको धारणा थियो । अहिले नेलम्बो नेपालप्रतिको लोकप्रियता बढ्दो क्रममा रहेको र नेलम्बो नेपाल जहाँ विपन्नता छ, जहाँ अभाव छ त्यो क्षेत्रमा केही हदसम्म पूर्ति गर्न निरन्तर लागि रहने पनि देवकोटाले प्रष्ट पारे ।
कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष सरोज कोइरालाले राखेका थिए भने साधारण सदस्य विधित शाहले शुभकामना मन्तव्य सहित आफ्नो भनाईहरु राखेका थिए । कार्यक्रमको सञ्चालन भने नेलम्बो नेपालकी सचिव सजनि उदासले गरेकी थिइन् ।
यस्तै सो अवसरमा संस्थाका पदाधिकारीहरुद्वय सरोज कोइराला पश्चिमाञ्चल मा.वि.मा प्राचार्य पदमा र डा.कपिल अधिकारी गण्डकी विश्व विद्यालयको डिन पदमा नियुक्त भएकोमा सम्मान गरिएको थियो ।
यसै विच नेलम्बो नेपालले दोस्रो अधिवेशन पनि सफलताकासाथ सम्पन्न गरेको छ । संस्थाको विधान अनुसार सञ्चालन गरिएको निर्वाचन कार्यक्रम अनुसार अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष पदका लागि एक–एक जना र सदस्य पदका लागि ३ जनाको मात्र दरखास्त पर्न आएको र उक्त संख्या आवश्यक संख्या भएकोले संस्थाको कार्यकारिणी समितिमा आगामी तीन वर्षका लागि सर्वसम्मतरुपमा चयन गरिएको छ ।
जसअनुसार आगामी तीन वर्षे कार्यकालका लागि अध्यक्षमा एकदेव देवकोटा, उपाध्यक्षमा सरोज कोइराला, सचिवमा सजनि उदास, कोषाध्यक्षमा अन्जना तझ्या र सदस्यहरुमा डा.कपिल अधिकारी, सुमेरु त्रिपाठी, र राकेश जोशी निर्विरोध निर्वाचित भएको निर्वाचन आयुक्त राममणि अधिकारीले घोषणा गरेका थिए ।
त्यसैगरी गण्डकी प्रदेशको आयोजना र गैरसरकारी संस्था महासंघ कास्कीको व्यवस्थापनमा पोखराको पृथ्वीचोकमा भएको संविधान दिवस २०७८ मा भएको दीप प्रज्वलन कार्यक्रममा नेलम्बो नेपालले २ सय ५० थान क्यान्डील सहयोग गरी ऐक्यवद्धता जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







