एमसिसीको ५६ अर्बमा र्याल काढ्नु भन्दा एनसेलको ६५ अर्ब उठाउनतिर लाग्न सरकार र दलहरुलाई विप्लवको सुझाव

- कमिसनका कारण नेताहरु एमसिसीको पक्षमा लागेको आरोप


     एभरेस्ट आवाज    
     असाेज ६ गते २०७८ मा प्रकाशित




नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) को ५६ अर्बमा ¥याल काढ्नु भन्दा एनसेलको ६५ अर्ब उठाउनतिर लाग्न नेताहरुलाई सुझाव दिएका छन् । नेपाल कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलनको बुधबार पोखरामा उद्घाटन गर्दै उनले विदेशीको डलर ल्याएर देश साट्नुभन्दा बरु आफ्नै देशको फसेको एनसेलको कर उठाउनतिर लाग्न उनले सरकार र दलहरुलाई सुझाव दिएका हुन् ।

विप्लवले नेपालका राजनीतिक दलहरु कमिसनको लोभमा एमसिसी ल्याउन लागिपरेको आरोप लगाए । ‘एमसिसी ल्याउनुको मकसद नेताहरुलाई ५६ अर्बको १० प्रतिशत कमिसन आउँछ । त्यो भनेको ६ अर्ब हुन्छ । त्यो खानलाई हो’–उनले भने । उनले विप्लवले नेपालमा एक वर्षमै ११ अर्ब बेरुजु भएको भन्दै त्यो भ्रष्टाचार भएको बताए । ‘एघार अर्ब त नेपालमा बेरुजु मात्र रहेछ । भ्रष्टाचार गरेर मिलाउँदा मिलाउँदापनि मिलाउन नसकेपछि निस्केको बेरुजु हो त्यो । कति मिलाएर खाए होलान् ?’–उनले भने ।

विप्लवले एमसिसी जबरजस्ती ल्याइए एमसिसी जलाउनुका साथै त्यो ल्याउनेलाईपनि नछाड्ने चेतावनी दिएका हुन् । उनले भने, ‘एमसिसी जबरजस्ती लादियो भने त्यो एमसिसी रहनेवाला छैन । त्यो एमसिसी त जल्छ जल्छ, एमसिसी ल्याउनेलाईपनि छाड्दैनौं, त्यसले ठूलो प्रतिरोधको सामना गर्नुपर्छ ।’ उनले एमसिसी राष्ट्रघाती भएको बताए । ‘एमसिसी देश जनताको बिरुद्धमा छ, त्यो ल्याउनु हुँदैन, ल्याउन दिदैनौं’–उनले भने ।

विप्लवले एमसिसी आए अमेरिकी सेना र साम्राज्वाद नेपाल आइपुग्ने दाबी गरे । त्यसैले यसकाबिरुद्ध आफू र आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी उभिएको उनले प्रष्ट पारे । एमसिसी बिरुद्ध आफूहरु मात्र नभई कर्मचारी र सेना, प्रहरीपनि रहेको उनले दाबी गरे ।

विप्लवले संसदीय व्यवस्था कि वैज्ञानिक समाजवाद भन्नेबारेमा जनमत संग्रह गर्न माग गरे । जनमत संग्रह गरे त्यसले दिने परिणाम मान्ने उनले बताए । जनमत संग्रह गर्दा शतप्रतिशत वैज्ञानिक समाजवादको पक्षमा जनमत आउने दाबी गरे । अहिले नेता मात्र नभई ब्यबस्था नै असफल भइसकेकाले यसको विकल्प जनताले खोजिरहेको उनको भनाई छ । ‘हामीसँग तागत छ, हामी जित्छौं । किनकी हामीसँग जनता छ, सत्यको बाटो छ, न्यायको बाटो छ’–उनले भने ।

विप्लवले अहिलेको ब्यबस्थाले समाजवाद नआउने ठोकुवा गरे । ‘समाजवाद दलदलमा उभिएर आउने चिज होइन, बरु दलदलमा उभिनेहरु आफै भासिने हो’–उनले भने ।

बुधबारदेखि शुरु भएको अखिल क्रान्तिकारीको सम्मेलन असोज ८ गते शुक्रबारसम्म चल्नेछ । चिप्लेढुंगा मानवअधिकारचोकमा उद्घाटन शत्र गरेको अखिल क्रान्तिकारीले बन्द शत्र भने पोखराको लेकसाईडस्थित कुटी रिसोर्टमा गर्ने अध्यक्ष चिरञ्जिवी ढकालले जानकारी दिए ।

अखिल क्रान्तिकारीको २२ औं सम्मेलनमा ‘वैज्ञानिक समाजवादी शिक्षा’ सम्बन्धी प्रस्ताव गरिने जनाइएको छ । वर्तमान शिक्षा प्रणालीले बेरोजगार उत्पादन गर्नेबाहेक अन्य केहिपनि उपलब्धी हाँसिल नगरेकाले औपचारिक रुपमा ‘वैज्ञानिक समाजवादी शिक्षा’ सम्बन्धी प्रस्ताव गर्न लागिएको उनले बताए । ‘वैज्ञानिक समाजवादी शिक्षा’मा शिक्षा व्यवहारिक मात्र नभई समानतामा आधारित हुने प्रस्ताव गरिएको अध्यक्ष ढकालले बताए । उनले त्यस्तो ‘वैज्ञानिक समाजवादी शिक्षा’मा शिक्षा पूर्ण रुपमा निःशुल्क हुनुपर्ने प्रस्ताव गरिएको उल्लेख गरे । प्रतावमाथि घनिभुत छलफल गरेर पारित गर्दै राज्यलाई ‘वैज्ञानिक समाजवादी शिक्षा’ लागु गर्न दवाब दिइने उनले बताए ।

अखिल क्रान्तिकारीको सम्मेलनमा ५५५ जना पर्यवेक्षक तथा प्रतिनिधि सहभागि भएको जनाइएको छ । सतहत्तरै जिल्लाका प्रतिनिधि तथा पर्यवेक्षक सहभागि भएको अध्यक्ष ढकालले जानकारी दिए । सम्मेलनले नया नेतृत्वसमेत चयन गर्ने उनले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।