माओवादी निकट अखिल क्रान्तिकारीको गण्डकी प्रदेश सम्मेलन सम्पन्न

- अध्यक्षसहित पदाधिकारी पहिलो बैठकले चयन गर्ने


     एभरेस्ट आवाज    
     असाेज १० गते २०७८ मा प्रकाशित




नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको गण्डकी प्रदेश सम्मेलन १११ सदस्यीय समिति चयन गर्दै सम्पन्न भएको छ । पोखराको लामाचौरस्थित पश्चिमाञ्चल ईञ्जिनियरिङ क्याम्पस हलमा सम्पन्न सम्मेलनले नया नेतृत्व चयन गरेको हो ।

सम्मेलनले सदस्यहरु चयन गरेपनि अध्यक्ष र अन्य पदाधिकारी भने चयन गर्न सकेन । अध्यक्षमा २, उपाध्यक्षमा ३ र सचिवमा २ जनाले दाबी नछाडेपछि सदस्य मात्रै चयन गर्दै सम्मेलन सकिएको बुझिएको छ । अब नवनिर्वाचित समितिको पहिलो बैठकले अध्यक्ष र अन्य पदाधिकारी चयन गर्ने निवर्तमान अध्यक्ष क्षितिज सापकोटाले जानकारी दिए । पहिलो बैठक अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन पछि बस्ने उनले बताए । अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन यहि असोज १४, १५ र १६ गते काठमाडौंमा हुँदैछ ।

अखिल क्रान्तिकारी गण्डकी प्रदेश अध्यक्षमा नारायण बडाल र सुदीन पौडेलले दाबी गरेका छन् । कास्कीका बडाल र म्याग्दीका पौडेल दुबै निवर्तमान प्रदेश सह–संयोजक हुन् ।

समितिको उपाध्यक्षमा राजन आले, पवन ढकाल र ध्रुव वाग्लेले दाबी गरेका छन् भने मुख्य सचिवमा आरके भट्ट र जीवन शर्माको दाबी रहेको अखिल क्रान्तिकारी निकट श्रोतले बताएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।