तस्बीरः एजेन्सी
आज आश्विन कृष्ण पक्षको अष्टमी तिथि अर्थात तराइवासी मधेसी महिलाहरुको महान जितिया पर्व। हरेक वर्षको आश्विन कृष्ण पक्ष अष्टमी तिथिका दिन तराई तथा मधेशमा जितिया पर्व धुमधामले मनाइन्छ।
नेपालमा तराईबासी मधेशी महिलाहरूले आफ्नो सन्तानको सुख, आनन्द र प्रगतिका निमित्त ‘जितिया’लाई उत्साहजनक चाडका रूपमा मनाउने गरेको धार्मिक विश्वास छ।
तराईलगायत अन्य केही जिल्लामा आज जितिया पर्व मनाइँदै छ। मातृस्नेहको रुपमा मनाइने यो पर्वमा बिहानै नजिकैको जलाधार अथवा नदीमा स्नान गरी तोरीको तेल र ‘खर’ चढाउने परम्परा रहिआएको छ।
यो पर्वमा आमाहरूले स्नान गरेर मात्र चोखो खानेकुरा खाने गर्दछन्। थारु समुदायले जितियालाई विजय अर्थात् जितका रूपमा मनाउने गरेको छ। नवलपरासी, चितवनलगायतका ठाउँमा रहेका थारु महिलाहरूले ३ दिनसम्म जितिया पर्व मनाउँछन्।
यसलाई ‘जीवित पुत्र’ पर्वको रूपमा मनाइन्छ। महिलाहरू ‘निर्जला’ अर्थात् पानी समेत सेवन नगरीकन २४ घण्टासम्म भगवान ‘जीतमहान गोँसाई’को पूजाआजा गरी कठोर व्रत बस्ने परम्परा रहिआएको छ।
जितियालाई विजय अर्थात् जितका रूपमा पनि लिने चलन छ। जितिया पर्वमा भगवान विष्णु, शिव र भगवान सूर्यलाई पूजा अर्चना गर्छन्। पारम्परिक गीत, संगीतका साथमा नाचगानसहित जितिया पर्व मनाइन्छ।
थारु समुदायले जितियामा नाँच्ने नाचलाई ‘झ्याम्टा’ भनिन्छ। यो समुदायले ब्रहमथानमा गाउने पानीका देवताको एउटा विशेषखाले गीत हुन्छ, जसलाई ‘जतसरी’ भनिन्छ। पिपलको हाङ्गा काटेपछि थारु महिलाहरूले गाउने एउटा अर्को पारम्परिक विशेष गीत छ, जसलाई ‘दारकाटोनी’ भनिन्छ। जितिया पर्वमा खुला आकाशमुनि सम्पूर्ण गीत अनि नृत्य प्रदर्शन गर्ने गरिन्छ।
थारु समुदायमा पिपलको हाङ्गा काटेर अनि धानका बिरुवाहरू उखेलेर गाउँको बीचमा गाईको गोबरले लिपेर राखिन्छ। यसरी लिपेर तयार पारिएको ठाउँलाई ‘थाट’ भनिन्छ। नेपालमा जितिया पर्वले धेरै समुदाय, भाषा अनि संस्कृति मान्नेहरूलाई एकै थलोमा भेला पार्छ।
नेपालको मिथिलाञ्चलमा एकदमै प्रचलित यो पर्वको विशेष परिकारको आकर्षण भनेको ‘झोर भात’ अर्थात् झोल भनेको तरकारी लगायतका कुराको रस र सामान्य भात अनि ‘नोनीको साग’ र ‘मडुवा’ अर्थात् कोदोको रोटी बनाउने र खाने चलन छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







