तस्बीरहरुः गुगलबाट
आज अक्टोवर १ तारिक अर्थात अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस।
सन् १९९१ देखि हरेक वर्षको अक्टोवर १ मा अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाउँदै आएको छ।
ज्येष्ठ नागरिकहरुलाई सम्मान र अधिकारमा पुहँच पु¥याउने उद्देश्यले संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वभर यो दिवस मनाइन्छ।
संयुक्त राष्ट्र संघको आयोजनामा विश्वव्यापी रुपमा अक्टोबर १ मा मनाइने अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस यसपटक आज (असोज १५ गते) परेको छ। संयुक्त राष्ट्रसंघले यस वर्षको ज्येष्ठ नागरिक दिवसका लागि यस वर्ष ‘सबै उमेर समूहका लागि विद्युतीय प्रविधिको प्रयोगमा समानता’ नारा तय गरेको छ।
नेपालमा ६० वर्ष उमेर पुगेका नागरिकलाई ज्येष्ठ नागरिक भनिन्छ। विक्रम संवत २०६८ सालको जनगणनाअनुसार नेपालमा कुल जनसंख्याको ९ प्रतिशत अर्थात २५ लाख वढी जेष्ठ नागरिकहरु रहेका छन्। प्रत्येक १० बर्षमा गरिने गणनाको तथ्यांकअनुसार वृद्धवृद्धाहरुको संख्यामा बृद्धि देखिएको छ। यसबाट नेपालमा औसत आयू पनि बढेको स्पष्ट हुन्छ।
विश्वमा ६० वर्ष उमेर पुगेका मानिसको संख्या ७६ करोड रहेको अनुमान छ। औसत आयूमा देखिएको सुधारले यो संख्या सन् २०५० सम्ममा २ अर्ब पुग्ने अनुमान छ।
नेपालको संविधान –२०७२ को धारा ४१ मा ‘जेष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ’ भनि उल्लेख गरिएको छ।
नेपाल सरकारले वृद्धवृद्धाका लागि सामाजिक सुरक्षा भत्तासहित अन्य सुविधा तथा अधिकारहरुको सुचिश्चिततालाई निरन्तरता दिंदै आएको छ। जेष्ठ नागरिकले आफ्नो जीवनकालमा संगालेका ज्ञान, सीप र अनुभव नयाँ पुस्ताको लागि मार्गर्दर्शन मानिन्छ। संयुक्त घर–परिवार प्रणालीमा चलेको हाम्रो समाजमा एउटै घरमा परिवारका धेरै सदस्यहरु बस्ने र त्यहाँ जेष्ठ नागरिकहरुलाई उच्च सम्मान हुने गर्दछ। तर, पछिल्ला दिनहरुमा पारिवार तथा समाजबाट नै वृद्धवृद्धाहरु अपहेलित हुने क्रम बढेको भन्दै सर्वत्र चासो र चिन्ता प्रकट पनि हुन थालेका छन्।
पछिल्ला दिनमा विकसित मुलुकको संस्कृति र मान्यताका प्रभावले नेपाली समाज र घरपरिवार पनि अछुतो छैन। त्यसैले जेष्ठ नागरिकहरु आफैं पनि संगठित भई केन्द्रीय, क्षेत्रीय र जिल्लास्तरमा संजाल संयन्त्रहरु निर्माण गरेर हक अधिकारका आवाजहरु उठाउन थालेका छन्।
प्रविधिमैत्री जेष्ठ नागरिकः प्रम देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले ज्येष्ठ नागरिक अनुभव र व्यवहारमा परिपक्व व्यक्तित्व भएका बताएका छन् । ३१ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा संपूर्ण ज्येष्ठ नागरिकप्रति शुभकामना व्यक्त गर्दै उनले सो कुरा बताएका हुन्।
जीवनको लामो समय राष्ट्र सेवाको भूमिकामा रही प्राप्त हुने ज्ञान, सीप र अनुभवलाई मुलुकको सामाजिक, आर्थिक रुपान्तरण एवं विकासका लागि परिचालन गर्दै नयाँ पुस्तामा समेत हस्तान्तरण गर्ने वातावरण सिर्जना गर्नेतर्फ सरकार अग्रसर रहेको उनले उल्लेख गरेका छन्।
संयुक्त राष्ट्रसंघले यस वर्षको ज्येष्ठ नागरिक दिवसका लागि यस वर्ष ‘सबै उमेर समूहका लागि विद्युतीय प्रविधिको प्रयोगमा समानता’ नारा तय गरेको छ। यस अवस्थामा प्रधानमन्त्री देउवाले ज्येष्ठ नागरिकको हकहित संरक्षण र सम्वद्र्धनका क्षेत्रमा क्रियाशील निकायलाई कार्यक्रम संचालन गर्दा ज्येष्ठ नागरिकलाई समेत प्रविधिमैत्री बनाउनेतर्फ ध्यान दिन आग्रह गरेका छन्।
ज्येष्ठ नागरिकको सम्मान र सुरक्षालाई महत्व दिँदै नागरिक स्वास्थ्य बीमा, सामाजिक सुरक्षा भत्ता, ७ वटै प्रदेशमा ज्येष्ठ नागरिक आरोग्य आश्रम निर्माण गर्ने, हरेक अस्पतालमा ज्येष्ठ नागरिक वार्ड संचालन गर्ने र अन्य स्वास्थ्य संस्थामा पनि ज्येष्ठ नागरिकका सुविधा र उपकरणको स्तरोन्नति गर्ने प्रधानमन्त्री देउवाले प्रतिबद्धता व्यक्त गरेका छन्।
सबै ज्येष्ठ नागरिकलाई निःशुल्क प्रिमियम सहितको बीमा गराउने, यातायात सेवामा ज्येष्ठ नागरिकका लागि सिट आरक्षण र भाडा छुट जस्ता सुविधाको व्यवस्थालाई महसूस हुने गरी कार्यान्वयन गरिने उनले उल्लेख गरेका छन्।
हाल कोभिड–१९ संक्रमणको महामारीबाट विश्व आक्रान्त रहेको अवस्थामा समस्त ज्येष्ठ नागरिकलाई स्वास्थ्य सुरक्षाका मापदण्डको अवलम्बन गरी स्वस्थ्य रहन अनुरोध गर्दै प्रधानमन्त्री देउवाले ज्येष्ठ नागरिकलाई प्राथमिकताका साथ सेवा सुविधा प्रदान गरी उच्च सम्मान व्यक्त गर्न सम्बद्ध सबै सरोकारवाला निकायलाई आग्रह गरेका छन्।
दिवसका अवसरमा उनले सामाजिक, सांस्कृतिक परम्पराअनुरूप परापूर्वकालदेखि कायम रहँदै आएको आफूभन्दा ठूलाको आदर, सत्कार, सम्मान र कदर गर्ने संस्कारलाई प्रवद्र्धन गर्न सबै नेपाली नागरिकलाई आग्रह गर्दै उनले शुभकामना व्यक्त गरेका छन्।
ज्येष्ठ नागरिकलाई टेलिकमको निःशुल्क सिम
अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा नेपाल टेलिकमले देशभरका ज्येष्ठ नागरिकलाई निःशुल्क सिम प्रदान गर्ने भएको छ। आज असोज १५ गतेदेखि २५ गतेसम्म ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई टेलिकमले निःशुल्क सिम वितरण गर्न लागेको हो।
उक्त सिममा १० रुपैयाँको ब्यालेन्स हुनुका साथै ४० मिनेट कुराकानी गर्न सकिने, २० वटा सन्देश पठाउन मिल्ने र ६० एमबी डाटा प्रयोग गर्न सकिने सुविधा हुनेछ। उक्त सुविधा एक महिनासम्म उपलब्ध हुनेछ।
टेलिकमका देशभरका कार्यालयका काउन्टरबाट ज्येष्ठ नागरिकले उक्त सुविधा उपलब्ध हुनेछ। सो सुविधाका लागि एक प्रति पासपोर्ट साइजको फोटो, परिचय र उमेर खुल्ने प्रमाणपत्र बुझाउनु पर्नेछ।
आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मुलुकभरका ज्येष्ठ नागरिकलाई उपलब्ध गर्ने निःशुल्क सिमको सुविधाले जेष्ठ नागरिकलाई दूरसञ्चार र सूचना प्रविधिको पहुँचमा ल्याउन सहयोग पुग्ने टेलिकमले जनाएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असार ३० गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा ६४ प्रतिशत…





