जनयुद्धका सहयात्रीलाई सहकार्यमा आउन अध्यक्ष प्रचण्डको आग्रह


     एभरेस्ट आवाज    
     असाेज १५ गते २०७८ मा प्रकाशित




फाइल तस्विर : पुष्प कमल दाहाल प्रचण्ड अध्यक्ष, नेकपा माओवादी केन्द्र

काठमाण्डौं । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक अर्काले गरेको गल्ती तथा कमजोरीबाट सिकेको ज्ञान तथा अनुभवलाई साटासाट गरेर नयाँ आधारमा अगाडि बढ्न माओवादी घटकहरूलाई आग्रह गरेका छन् ।


आफूले तत्कालीन नेकपा(एमाले) सँग सकारात्मक मनसायका साथ एकता गरेको भए पनि त्यसले गतिलो परिणाम नदिएको भन्दै उनले त्यसबाट प्राप्त गरेको ज्ञानलाई समेत साटफेर गर्न तयार रहेको बताए ।

जनयुद्धको स्मरणमा लेखिएको गीतिसंग्रह ‘सपनाको पाण्डुलिपी’को विमोचन गर्दै उनले विभिन्न घटकमा विभक्त भएका माओवादी पार्टी र जनयुद्धका सहकर्मीलाई ठण्डा दिमागले एक अर्काको ज्ञानलाई माझ्न र साझा सहकार्यका लागिसमेत आग्रह गरे ।


माओवादी आन्दोलनमा सहभागी सबै नेता तथा कार्यकर्ताहरू एक आपसमा मिलेर जाने प्रयास भइरहेको भन्दै उनले त्यसका लागि सकारात्मक वातावरण बनाउनसमेत सबैलाई अनुरोध गरे । आफूलाई सत्तारुढ गठबन्धनका नेताहरूले केपी ओलीसँग एकता गरेर के पाउनुभयो भनेर पटकपटक प्रश्न गर्ने गरेको स्मरण गर्दै उनले भने “ओलीसँग एकता गरेर मैले ज्ञान प्राप्त गरेको छु ।”

आफूहरूले जनयुद्धको क्रममा क्रान्ति छल्छु भनेर कहिल्यै नसोचेको तर दुश्मनले अवरोध गरेको बाटो छल्दै जाँदा अहिलेको स्थानमा आइपुगेको बताउँदै अध्यक्ष प्रचण्डले भने, “यसमा मेरो इमान्दार प्रयास थियो । कुनै गलत नियत राखिएको थिएन किनकी मैले क्रान्ति छाडेको छैन । नियत गलत राखेको छैन ।”

वामपन्थी तथा माओवादी घटकहरू मिलेर जनतालाई परिचालन गर्ने हो भने गलत निर्वाचन प्रणाली र शासकीय प्रणाली परिवर्तन गर्न सकिने उनको भनाइ छ । अध्यक्ष प्रचण्डले पछिल्लो पटक प्रतिनिधिसभाको विघटन पछि लाखौं जनताको साथमा गरिएको शान्तिपूर्ण सडक प्रदर्शनले पनि सही नीति तथा कार्यक्रम भयो भने जनताले साथ दिन्छन् भन्ने स्पष्ट भएको समेत उल्लेख गरे ।

माओवादी आन्दोलनलाई भ्रष्टीकरण गर्ने र त्यसको बलमा स्थापित भएको धर्मनिरपेक्षता, समावेशी, समानुपातिक प्रतिनिधित्व उल्ट्याउने ध्येयका साथ प्रतिनिधिसभाको विघटन गरिएको बताए । कार्यक्रममा जनकलाकार जीवन शर्मा र प्रतिनिधिसभा सदस्य अमृता थापा मगरले गीतिसंग्रहमाथि टिप्पणी गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।