मौसमविद् भन्छन् : ‘यसपालि दशैँमा पनि पानी पर्ने सम्भावना छ’


     एभरेस्ट आवाज    
     असाेज १९ गते २०७८ मा प्रकाशित




फाइल तस्बिर ।

काठमाण्डौ । यसपालिको दशैँमा पनि पानी पर्ने मौसमविद्को अनुमान छ । मनसुन अझै केही दिन रहने भएकाले दशैँमा पनि पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका हुन् ।


मौसमविद् प्रतिभा मानन्धरका अनुसार अहिलेसम्मको प्रक्षेपणले यो हप्ताभरि नै मनसुन रहने अनुमान गरिएको छ । दशैँको घटस्थापना सुरु हुन अब दुई दिन मात्रै बाँकी छ । मौसमविद् मानन्धरले यसपालिको दशैँमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको बताइन् ।

‘लगातारको झरी र ठूलो पानी पर्ने सम्भावना भने छैन, तर हल्कादेखि मध्यम वर्षा भने हुने पूर्वानुमान छ’ उनले भनिन् । दशैँ नजिकिएसँगै यात्रुहरु गाउँ घर जान थालिसकेका छन् । पानी पर्ने सम्भावना रहेकाले पहिरोको जोखिम हुने भन्दै यात्रा गर्दा सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

यस्तै, मौसमविद् मानन्धरले यसपालि दशैँ पछि पनि पानी पर्ने सम्भावना रहेको बताइन् । अक्टोबर र नोभेम्बरमा पोस्ट मनसुनका गतिविधि हुने भएकाले दशैँ पछि पनि पानी पर्ने उनले बताइन् । यसपालि मनसुन सुरु भए पछि औसतभन्दा धेरै वर्षा भइसकेको छ ।

गएको जेठ २८ गते नेपालमा मनसुन भित्रिएको थियो । मौसमविद्ले मनसुन सुरु हुनु अगावै यसपालि धेरै पानी पर्ने अनुमान गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।