दीपेन्द्र बुढा ठकुरीको ‘सुनको महल’ सार्वजनिक


     एभरेस्ट आवाज    
     असाेज १९ गते २०७८ मा प्रकाशित




पोखरा । गायक तथा मोडल दीपेन्द्र बुढा ठकुरीको ‘सुनको महल’ नामक सुगम गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

चर्चित कलाकारद्वय केकी अधिकारी र नीर शाहसहित दीपेन्द्र बुढा ठकुरीको समेत अभिनय रहेको म्यूजिक भिडियोको निर्देशन गायक तथा संगीतकार अर्जुन थापाले गरेका हुन् ।

भिडियो सार्वजनिक कार्यक्रममा बोल्दै दीपेन्द्र बुढा ठकुरीले गीत आफ्नो वास्तविक जीवनसँग नजिक रहेको बताए । आफ्नो जीवनमा मात्र नभइ यो गीत अन्यको जीवनसँग पनि मेल खाने बताउँदै पोखरामा भिडियो सार्वजनिक गर्न पाउँदा खुसी लागेको बताए । ठकुरीले यो गीतपछि अर्को भाग पनि आउने बताउँदै गीत संगीतप्रतिको झुकाव सानैदेखि रहेको र अहिले आएर त्यो सपना पूरा गर्न पाएको उल्लेख गरे । उनले दर्शक स्रोताको माया पाउने विश्वास व्यक्त गरे ।

नायिका केकी अधिकारीले यो टिमसँग काम गर्न पाएकोमा खुसी व्यक्त गर्दै कलाकार ठकुरीलाई आफ्नो सपनाको गोरेटोमा हिँड्नु भएको र यसलाई निरन्तरता दिएर गीत संगीतको क्षेत्रमा योगदान दिन आग्रह गरिन् । कार्यक्रममा अधिकारी स्वास्थ्य समस्याका कारण भर्चुअल माध्यमबाट जोडिएकी थिइन् ।

निर्देशक अर्जुन थापाले कथाअनुसारको कलाकार छनौट गरी भिडियो राम्रो बनाउन कुनै कसर बाँकी नराखेको बताए । थापाले डिएमबिएस फिल्मस्सँग मिलेर यसै गीतको भाग २ निकाल्ने तयारीमा रहेको र आगामी दिनमा नेपाली चलचित्र बनाउने योजना रहेको समेत बताए ।

सो अवसरमा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदीले म्युजिक भिडियोको सफलताको शुभकामना व्यक्त गरे ।

डिएमबिएस फिल्मस् प्रोडक्सनको निर्माण ओएसआर डिजिटलको प्रस्तुति रहेको सो म्युजिक भिडियोको सार्वजनिकीकरण कार्यक्रमको संयोजन गण्डकी भ्वाइस डट कमले गरेको थियो ।

कार्यक्रममा गण्डकी भ्वाइस डट कमका प्रबन्ध निर्देशक सुरज थापाको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालन सञ्चारकर्मी जुना थापाले गरेकी थिइन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।