बडा दसैँ सुरु

- यस वर्षको विजया दशमीको अवसरमा एभरेस्ट मिडिया हाउस प्रालि. पोखराबाट संचालित एभरेस्ट आवाज र एभरेस्ट एफएम ९३ मेघाहर्ज परिवार संपूर्ण पाठक, श्रोता, विज्ञापनदाता र शुभचिन्तकप्रति मंगलमय हार्दिक शुभकामना व्यक्त गर्दछ


     एभरेस्ट आवाज    
     असाेज २१ गते २०७८ मा प्रकाशित



आज आस्विन शुक्ल प्रतिपदा अर्थात नेपालीहरुको महान पर्व बडादसैँ सुरु भएको दिन।

आजदेखि यस वर्षको बडादसैँ सुरु भएको मानिन्छ।

बडा दसैँको पहिलो दिन आज घटस्थापना। घर–घरमा कलश स्थापना गरी घटस्थापना मनाउने चलन छ। आश्विन शुक्ल पक्ष प्रतिपदाका दिनलाई घटस्थापना गरिन्छ। आजकै दिनदेखि नवरात्र आरम्भ हुन्छ।

घटस्थापनाका दिन दियो, गणेश र कलशको पूजा गरी घटस्थापना गर्ने र शक्तिस्वरुपा महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा गर्दै जमरा राखिन्छ। घटस्थापनाको शुभसाइत बिहान ११ः ४६ मा रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।

नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवीहरुको स्तोत्र एवं पाठ गरिन्छ। नवरात्रमा प्रतिपदादेखि नवमीसम्म ९ वटी देवीको पूजाआराधना गरिन्छ। शैलपुत्री, व्रह्मचारणी, चन्द्रघन्टा, कुशमन्दा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्री यी ९ देवीहरूलाई नवदुर्गाको नामले पुकारिन्छ। ९ दिनसम्म नवदुर्गा भवानीले ९ वटा विभिन्न स्वरूपमा उपासकहरूलाई दर्शन दिनुहुन्छ भन्ने मान्यता छ।

त्यसैले भक्तजनहरू आफ्नो मनको ईच्छा पूरा हुने उत्कट अभिलाषाले यस नवरात्रि पर्वमा नवदुर्गा देवीलाई राँगा, बोका, भेडा, हाँस, कुभिण्डो अथवा पञ्चबलि चढाएर आ–आफ्ना मनोकांक्षा पूरा गर्ने गर्दछन्। आजको दिनदेखि नवरात्रको दिनसम्म देवीका शक्तिपीठहरु नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवती लगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्न भक्तजनको भिड लाग्ने गर्दछ।

यस वर्षको बडा दसैँ अन्तर्गत फूलपाती असोजको २६ गते (मंगलबार) र विजया दशमी असोजको २९ गते (शुक्रबार) परेको छ। यस वर्षको विजया दशमी, देवी विर्सजन बिहान ८ः१९ बजे र दसैँको टिका लगाउने उत्तम साइत १०ः ०२ मिनेटमा रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।

विजया दशमीको अवसरमा एभरेस्ट मिडिया हाउस प्रालि. पोखराबाट संचालित एभरेस्ट आवाज र एभरेस्ट एफएम ९३ मेघाहर्ज परिवार संपूर्ण पाठक, श्रोता, विज्ञापनदाता, शुभचिन्तक र देश विदेशमा रहेका नेपाली नागरिकप्रति मंगलमय हार्दिक शुभकामना व्यक्त गर्दछ।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।