पोखरामा घरेलु लघु उद्यम सामग्रीको प्रदर्शनी मेला


     एभरेस्ट आवाज    
     असाेज २३ गते २०७८ मा प्रकाशित




तस्बीरः एजेन्सी

पोखरामा गण्डकी प्रदेशस्तरीय लघु उद्यमी व्यापार मेला सुरु भएको छ।

गण्डकी प्रदेशभित्र उत्पादित औद्योगिक वस्तुबारे उपभोक्तालाई जानकारी दिन र लघु घरेलु उद्यमीद्वारा उत्पादित वस्तुहरुको प्रदर्शन एवं बजारीकरण गर्ने उद्देश्यले राष्ट्रिय लघु उद्यमी महासंघको आयोजनामा पोखराको लेकसाइडस्थित फेवा रिसोर्टमा व्यापार मेला सुरु भएको हो।

प्रदर्शनीमा क्षेत्रीय तथा प्रदेशमा उत्पादित लघु तथा घरेलु वस्तुहरु प्रदर्शनीमा राखिएको छ। साथै मेलामा फरक क्षमता भएका उद्यमीहरुद्वारा उत्पादित सामग्रीहरु पनि प्रदर्शनीमा राखिएको छ।

प्रदर्शनीमा परम्परा हस्तकलाका सामग्री, नेपाली हाते कागज, गलैचा राडिपाखी, अल्लो, केरा, भाँगो, केत्तुकी, भिमल, लोक्ता, जुटलगायतका बनस्पतिबाट परम्परागत ढंगले प्रशोधन गरिएको बस्तु, काठ, बेत, निगालोबाट निर्मित घरायसी सजावटका सामग्रहरु प्रदर्शनीमा राखिएका छन्।

हाते औजारबाट बुनिएका पस्मिना तथा ढाकाका कपडाहरु पनि प्रदर्शनीमा राखिएका छन्। गैर काष्ठजन्य बन पैदावर (जडिबुटी, रेसा) बाट बनेका कृषिमा आधारित औद्योगिक वस्तुहरु, तयारी पोशाक, हर्बल र सेरामिक उत्पादनका वस्तुहरुलाई प्रदर्शनीमा राखिएको छ।

मह, जुस, जाम, सिस्नुको पाउडर, लप्सी क्याण्डी, अदुवा क्याण्डी लगायत फलफूल तथा कृषिमा आधारित खाद्य तथा पेय पदार्थहरु प्रदर्शनीमा राखिएको छ।

प्रदर्शनी यही असोजको २५ गतेसम्म चल्ने महासंघका महासचिव चन्द्रबहादुर नेपालीले बताए।

वर्तमान अवस्थामा लघु, घरेलु तथा साना उद्योगहरू दिन प्रतिदिन धराशायी हुँदै गएको यस क्षेत्रले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका उद्योग, व्यवसाय सँग प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा प्रतिस्पर्धा गर्नुपरेको वर्तमान अवस्थामा यस क्षेत्रको प्रवर्द्धन गर्न मोला आयोजना गरिएको नेपालीले उल्लेख गरे।

खेर गइरहेका स्थानीय कच्चा पदार्थको सदुपयोग, ग्रामीण भेगको आय स्तर वृद्धिका साथै रोजगारी सिर्जना, स्थानीय सीप, कलाको संरक्षण लघु तथा घरेलु उद्योगहरूको योगदान अतुलनीय रहेको उनको भनाई छ। यस क्षेत्रबाट उत्पादित बस्तु निर्यात योग्य हुने वैदेशिक बजारमा समेत माग भएकाले यसको प्रवर्द्धनमा लाग्नुपर्ने आजको आवश्यकता रहेकाले मेला आयोजना गरिएको उनले थपे। स्वदेशी वस्तुको प्रयोग उच्चतम रुपमा गर्न लघु उद्यमी महासघं नेपालले आग्रह गरेको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।