गण्डकी प्रदेश ‘साक्षर प्रदेश’ घोषणा भएको छ । गण्डकी प्रदेश सरकारद्वारा आईतबार पोखरामा आयोजित एक औपचारिक कार्यक्रमका बीच प्रधानमन्त्री शेरबहादुर देउवाले गण्डकी प्रदेशलाई ‘साक्षर प्रदेश’ घोषणा गरेका हुन् । साक्षर प्रदेश भएकोमा गण्डकी प्रदेश, प्रदेशबासी र प्रदेश सरकारलाई प्रधानमन्त्री देउवाले बधाई ज्ञापन गरे । साक्षर प्रदेश घोषणा अघि प्रधानमन्त्री देउवाले पोखरा नयाबजारमा रहेको प्रदेश संग्रहालयमा निर्माण गरिएको ‘साक्षरता स्तम्भ’को अनावरण गरे । प्रदेशका ८५ वटै पालिका र ११ वटै जिल्ला साक्षर घोषणा भएकाले प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिएको गण्डकी प्रदेशका प्रमुख सचिव दामोदर रेग्मीले बताए ।
शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्रालयका अनुसार गण्डकी प्रदेशमा १५ वर्षदेखि ६० वर्ष उमेर समूहको औषत साक्षरता प्रतिशत ९६.५७ प्रतिशत रहेको छ । त्यस्तै, प्रदेशको राजधानी कास्की जिल्लामा ९६ प्रतिशत साक्षरता प्रतिशत रहेको छ भने स्याङ्जामा ९६.१६ प्रतिशत, तनहुँमा ९६.४० प्रतिशत, लमजुङमा ९५.५ प्रतिशत, गोरखामा ९७.२० प्रतिशत र नवलपुरको ९८ प्रतिशत साक्षरता रहेको छ । यसैगरी पर्वतको ९६.९३ प्रतिशत, बागलुङको ९६.५७ प्रतिशत, म्याग्दीको ९६.२७ प्रतिशत, मनाङको ९६.९० प्रतिशत र मुस्ताङको ९६.३५ प्रतिशत साक्षरता रहेको जनाइएको छ ।
राष्ट्रसंघको विश्वव्यापी अभ्यास अनुसार १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत भन्दा बढी नागरिक साक्षर भएको सुनिश्चिता गरेको छ । सोहि अभ्यासलाई आधार बनाएर नेपालमा पनि १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत भन्दा बढी नागरिक साक्षर भएको सुनिश्चितता भएका क्षेत्र, जिल्ला, प्रदेश वा राष्ट्रलाई साक्षरता घोषणा गर्न सकिने नीति पारित गरेको छ । यहि नीति अनुसार प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिएको प्रदेशको शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले बताए । उनले प्रदेशका ८५ वटै स्थानिय तह र ११ वटै जिल्लामा साक्षरता घोषणा भइसकेको बताए ।
गण्डकी प्रदेशमा १५ वर्ष मुनिका २ प्रतिशत निरक्षर रहेको मन्त्रालय शिक्षा महाशाखा प्रमुख तोयनाथ लम्सालले जानकारी दिए । उनका अनुसार यस प्रदेशमा ९८.५ प्रतिशत विद्यालय भर्नादर रहेको छ ।
साक्षरता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले साक्षरता प्रदेश घोषणा हुनु गर्वको विषय भएको बताए । उनले साक्षर भन्दापनि शिक्षित जनशक्ति आवश्यक रहेको भन्दै त्यसो भयो भनेमा विकास, समृद्धि र सुशासन आउने बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







