नवरात्रको सातौँ दिन, आज फूलपाती भित्राइँदै


     एभरेस्ट आवाज    
     असाेज २६ गते २०७८ मा प्रकाशित




तस्बीरः एजेन्सी

आज आश्विन शुक्ल सप्तमी तिथि।

आजको दिन दसैँको नवरात्रको सातौँ दिन अर्थात फूलपाती।

देशभरी पूजाआजा गरेर धार्मिक विधिपूर्वक आज घरघरमा फूलपाती भित्राइन्छ।

घटस्थापनादेखि पूजाआजा गरिएको दशैंघर अथवा पूजाकोठामा आजको दिन शुभ साइतको प्रतीकका रुपमा उँखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवा समेत भित्राउने गरिन्छ।

आजको दिन आश्विन शुक्ल सप्तमी अर्थात फूलपातीका दिन भएकाले फूलपातीलाई ९ देवीको प्रतीकका रुपमा भित्राई शास्त्रीय विधिअनुसार शक्तिको आराधना साथै पूजाआजा गर्ने वैदिक विधि रहेको छ।

फूलपातीका दिन हनुमानढोका दरबारको दशैँ घरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्राउने परम्परा छ।

गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौँमाथि विजय प्राप्त गरेपछि गोरखाबाट फूलपाती ल्याएर काठमाडौँको हनुमानढोकास्थित नासलचोकमा भित्राउने परम्परा रहेको छ।

हनुमानढोका दरबारस्थित दशैँघरमा भित्राउने गरी धादिङको जीवनपुरबाट काठमाडौँको जमलमा फूलपाती ल्याउने टोली मंगलबार जीवनपुर गएको छ।

नेपाली सेनाको शार्दूूलजंग गुल्मका २ जवान र हनुमानढोका दरबार हेरचाह अड्डाका ४ जना जीवनपुर गएका छन्। विगतमा समरजंग कम्पनीको टुकडी जीवनपुर जाने गरेकोमा यस वर्ष कम्पनीको जिम्मेवारी शार्दूूलजंगमा सारिएको हो।

गोरखाबाट मगर जातिले पैदलै जीवनपुर ल्याएको फूलपातीलाई जीवनपुरबाट जमल हुँदै हनुमानढोका दरबारस्थित दशैँघरमा भित्राउने प्रचलन छ।

सरकारी अधिकारी र गुरु पुरोहितले आशागुर्जा कल्स्यौँडीसहित सिँगारिएको फूलपातीलाई जमलमा स्वागत गरेर दशैँघर भित्राउने तयारीमा छ।

दुर्लभ असुरोको पातसहितको यो यात्रा दसैँको फूलपातीमा अति महŒवको हुने गर्दछ।

एभरेस्ट आवाज/ एभरेस्ट एफएम डेस्क


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।