सुकुम्बासी समस्याको स्थायी समाधान खोज्न आग्रह


     रासस    
     असाेज २६ गते २०७८ मा प्रकाशित



काठमाण्डौं । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्याको स्थायी समाधानका लागि न्यायोचित पहल गर्न सरकारसँग आग्रह गरेको छ ।


लुम्बिनी प्रदेशको रुपन्देहीस्थित मोतिपुर औद्योगिक क्षेत्रमा प्रहरी र सुकुम्बासी समूहबीचको झडपमा सशस्त्र प्रहरी बलले गोली चलाउँदा आइतबार चार जनाको मृत्यु भएकोप्रति ध्यानाकर्षण जनाउँदै इन्सेकले उक्त आग्रह गरेको हो ।

इन्सेकका अध्यक्ष डा इन्दिरा श्रेष्ठले आज जारी गरेको प्रेस विज्ञप्तिमा सुकुम्बासी तथा अव्यवस्थित बसोबासमा राज्यका जिम्मेवार निकायको लापरबाही देखिने गरेको हुँदा त्यस्ता समस्याको स्थायी समाधानको न्यायोचित पहल गर्नुपर्ने उल्लेख छ ।

सुकुम्बासी बस्तीका प्रदर्शनकारीलाई प्रदर्शनका क्रममा संयमता अपनाउन र विरोध कार्यक्रम शान्तिपूर्वक सञ्चालन गर्न आग्रह गर्दै इन्सेकले मोतिपुर घटनाको सत्यतथ्य पत्ता लगाई दोषी उपर कारबाही गर्न र उच्चस्तरीय संयन्त्र गठन गर्न आग्रह गरिएको छ ।

साथै, इन्सेकले पीडित नागरिकको अधिकार र न्यायको सुनिश्चितता गर्न सरकारसँग माग गरेको छ ।

लुम्बिनी प्रदेशको रुपन्देहीस्थित मोतिपुर औद्योगिक क्षेत्रमा प्रहरी र सुकुम्बासी समूहबीचको झडपमा सशस्त्र प्रहरी बलले गोली चलाउँदा चार जनाको मृत्यु भएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।