जीप दुर्घटनामा दशैं मनाउन घर जाँदै गरेका ३ को मृत्यू


     एभरेस्ट आवाज    
     असाेज २९ गते २०७८ मा प्रकाशित



साङ्केतिक तस्विर

गुल्मीमा जिप दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । दशैं मनाउन बुटवलबाट सदरमुकाम तम्घासतर्फ जाँदै रेसुंगा नगरपालिकामा जीप दुर्घटना भएपछि ३ उनीहरुको मृत्यू भएको हो । दुर्घटनामा अन्य ६ जना घाईते भएका छन् । मृत्यू हुनेमा गुल्मीको मुसिकोट नगरपालिकाका दुई महिला र एक पुरुष रहेको प्रहरीले बताएको छ । उनीहरुको उपचारका क्रममा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

मृत्यु हुनेमा गुल्मीको मुसिकोट नगरपालिका २ जलजला बस्ने ७० वर्षीय क्षेत्र बहादुर थापा, सोही ठाउँकी ४० वर्षीया राधिका थापा र मुसिकोट नगरपालिका ३ नेटाकी १९ वर्षीया संगीता सुनार रहेका प्रहरीको भनाई छ ।

लु १ ज ४४९० नम्बरको जिप गएराति ११ बजेतिर रेसुंगा नगरपालिका– १० छहरा भन्ने स्थानमा सडकबाट करिब ५ सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा जिप चालकसमेत घाईते भएका छन् ।

घाइते हुनेहरुमा जिप चालक मुसिकोट नगरपालिका–२ जलजलाका २६ वर्षीय कमल थापा, सोही ठाउँका ४३ वर्षीया खिमा थापा, ३८ वर्षीया जुना थापा र ३६ वर्षीय राजु थापा रहेको गुल्मी प्रहरीले बताएको छ ।

घाईते हुनेमा मुसिकोट नगरपालिका–३ नेटा बस्ने ४७ वर्षीया सुमित्रा सुनार र चितवनको भरतपुर नगरपालिकाकी ५० वर्षीया राधा केसी रहेको प्रहरीले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।